सूचनाको शक्ति - The Power Of Information

        

नेपाल एयरलाइन्सले नेपालगञ्जबाट हिमाली जिल्लामा दैनिक उडान गर्ने

नेपाल एयरलाइन्सले दसैँमा यात्रुको चापलाई ध्यानमा राखेर नेपालगञ्जबाट कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लामा दैनिक उडान गर्ने भएको छ ।

नेपाल एयरलाइन्स क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख मानबहादुर चौधरीले आगामी मङ्गलबारदेखि केही दिनसम्म हिमाली जिल्लामा दैनिक उडान गर्ने तालिका बनाइएको जानकारी दिए ।

उनले दसैँमा नेपालगञ्जबाट कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लामा जाने यात्रुहरू तथा त्यहाँबाट नेपालगञ्जलगायतका स्थानमा फर्किनेहरूका लागि दैनिक उडानको योजना बनाएको बताए ।

कार्यालय प्रमुख चौधरीका अनुसार नेपालगञ्जबाट कर्णालीका हुम्ला र मुगुमा मङ्गलबारदेखि शनिबारसम्म पाँच दिन नियमित उडान गरिनेछ । त्यसैगरी नेपाल एयरलाइन्सले नेपालगञ्जदेखि नै डोल्पा, जुम्ला र बाजुरामा मङ्गलबारदेखि शुक्रबारसम्म चार दिन नियमित उडान गर्नेछ ।

नेपालीहरूको महान पर्व दसैँ, तिहारमा दुर्गमका जिल्लामा जान यात्रुहरूले दुःख पाउने भएकाले उनीहरूको सहजताका लागि केही दिन हिमाली जिल्लामा नियमित उडान गरिने भएको हो ।

संस्कृति पर्यटन तथा नागरिक मन्त्रालयले यात्रुहरूको सहजताका लागि उडान थप्न निर्देशन दिएपछि थप उडान राखिएको कार्यालय प्रमुख चौधरीले जानकारी दिए । नेपाल एयरलाइन्सको हवाइ टिकट अनलाइन र सम्बन्धित कार्यालयमा पुगेर यात्रुहरूले लिनसक्ने व्यवस्था मिलाइएको नेपाल एयरलाइन्स क्षेत्रीय कार्यालय नेपालगन्जले जनाएको छ ।

हिमाली जिल्लामा जान यात्रुहरूको चाप बढेपछि दैनिक नियमित उडान राखिएको जनाइएको छ । यी हिमाली जिल्लाहरूमा सडक यातायात भरपर्दो नहुँदा हवाइ यातायात नै आवत जावतको मुख्य विकल्पको रूपमा छ ।

यसअघि नेपाल एयरलाइन्सले कर्णाली र सुदूरपश्चिमका जिल्लामा हप्तामा कतै एक र कतै दुई दिन उडान गर्दै आएको थियो । तर अहिले दसैँलाई मध्यनजर गर्दै एयरलाइन्सले उडान थप्दै सबै हिमाली विमानस्थलमा दैनिक उडानको तालिका राखेको छ ।

निजी एयरलाइन्सहरूले समेत नेपालगञ्जबाट यी सेक्टरमा उडान गरे पनि पप्र्यात मात्रामा जहाज नहुँदा तराईबाट घर फर्किने र हिमाली जिल्लाबाट चाडवाड मनाउन घर फर्किने कर्मचारीहरूले सास्ती भोग्दै आएका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार १४:४२

लोकप्रिय