सूचनाको शक्ति - The Power Of Information

        

किसानका समस्या पहिचान गर्दै कृषि अनुसन्धान निर्देशनालय खजुरा

लुम्बिनी प्रदेशमा कृषि अनुसन्धानका लागि प्रमुख सरकारी निकायको रुपमा रहेको बाके खजुरास्थित कृषि अनुसन्धान  निर्देशनालयले राप्तीसोनारी गाउँपालिका-६ टेपरीमा गाउँस्तरीय योजना बैठक सम्पन्न गरेको छ ।

अनुसन्धान परियोजना निर्माणका लागि कृषकहरुका समस्या पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम निर्देशनालयका वैज्ञानिक जगन्नाथ बन्जाडेको अध्यक्षता एवं राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलको प्रमुख आतिथ्यता र कृषि ज्ञान केन्द्र बाँकेका बागवानी विकास अधिकृत रामप्रकाश यादव लगायतको आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढिरहेको र कृषि अनुसन्धानसंग समन्वय र सहकार्य गर्न सधैं तत्पर रहेको बताए ।

पौडेलले बाँके जिल्लामा अनुसन्धान निर्देशनालय हुनुको सदुपयोग यस जिल्लाका स्थानीय तहहरुले गर्नुपर्ने र प्राविधिक ज्ञान, स्रोत, बीउ, नश्ल र अन्य प्रविधिको पहुँचमा सबै कृषकहरु रहनुपर्ने उल्लेख गरे ।

कृषकहरुसंग अन्तरक्रियात्मक सत्रमा बाली, बागवानी, पशुपालन, मत्स्यपालन लगायतका क्षेत्रमा किसानले औंल्याएका समस्या सूचीकरण गरी सो सम्बन्धि अनुसन्धानबाट विकास एवं सिफारिस भइसकेका प्रविधिको बारेमा जानकारी प्रदान गरिएको थियो ।

सो सत्रमा विषयगत क्षेत्र अनुसार बालीतर्फ वैज्ञानिक डा. नवराज आचार्य र अधिकृत सुमन बोहरा, पशुपालनतर्फ वैज्ञानिक जगन्नाथ बन्जाडे, अधिकृत दुर्गा रावत र डा. चेतमान जिसी, घाँसेबालीतर्फ अधिकृत हरिप्रसाद शर्मा, यान्त्रिकरणतर्फ अधिकृत सागर महर्जन, मत्स्यतर्फ प्राविधिक सुदिप लामिछाने र बागवानीतर्फ प्राविधिक लक्ष्मण भण्डारीले सहजीकरण गरेका थिए ।

अनुसन्धान परियोजना निर्माण गर्दा अपनाइने विभिन्न चरणहरु मध्ये गाउँ स्तरीय योजना बैठक पहिलो चरणको कार्य रहेको र यसबाट संकलन गरिएका समस्याहरुले अनुसन्धानमूलक विषय निर्धारणमा महत्त्वपूर्ण भूमिका खेल्ने निर्देशनालयका योजना शाखाका प्राविधिक अधिकृत रविन गिरीले बताए ।

कृषकहरुले औंल्याएका कतिपय समस्याको समाधानका लागि पहिले नै प्रविधि हातमा रहे पनि उपलब्ध प्रविधि कृषकसम्म पुग्न नसकेकोले कृषक समस्यामा परेको र कतिपय समस्या नयाँ एवं निरन्तर आइरहने प्रकृतिका हुने हुँदा सो सम्बन्धमा निरन्तर अनुसन्धान गरिरहनुपर्ने गिरीको भनाई छ ।

गाउँ स्तरको कार्यक्रम पश्चात प्रदेश स्तरको कृषि प्राविधिक कार्य समूह बैठक आयोजना गर्ने निर्देशनालयको लक्षित कार्यक्रम छ । निर्देशनालयले यस अघि रोल्पाको माडिचौरमा पहिलो गाउँ स्तरिय योजना बैठक सम्पन्न गरिसकेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार १४:३२

लोकप्रिय