सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपतिबाट माफी पाएका व्यक्ति हत्या आरोपमा पक्राउ

राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका दिन कैद मिनाहा पाएर जेलमुक्त भएका पश्चिम रुकुमका लोकबहादुर विक अर्को हत्या आरोपमा पक्राउ परेका छन् ।

पश्चिम रुकुमको सानीभेरी गाउँपालिका ९ का विक कारागार मुक्त भएको तीन साता नवित्दै पे्रमिकाको हत्या आरोपमा पक्राउ परेका हुन । मुसीकोट–७ की २७ वर्षीया भावना विकको हत्या आरोपमा उनी पक्राउ परेका हुन् ।

गत मंगलबार मुसिकोट नगरपालिका– १ खलङ्गाको एक होटलमा भावना मृत अवस्थामा फेला परेकी थिइन् । होटलको कोठामा घाँटी रेटेर हत्या गरी सिरकले छोपेर छाडेको अवस्थामा भावनाको शव फेला परेको थियो । तालिम प्राप्त कुकुरको सहायतामा अनुसन्धान गर्दा लोकबहादुरबाट हत्या भएको पत्ता लागेको प्रहरीले जनाएको छ ।

श्रीमान वैदेशिक रोजगारीमा रहेकी भावना र लोकबहादुरबीच प्रेम सम्बन्ध रहेको देखिएको र भावनाले बिहे गर्न दबाव दिएपछि लोकबहादुरले हत्या गरेको अनुसन्धानबाट खुलेको पनि प्रहरीले जनाएको छ ।

बहुविवाहको मुद्दामा जेल परेका विक ६ महिना पनि जेल नबस्दै राष्ट्रपतिबाट माफी पाएर कारागार मुक्त भएका थिए ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार १४:१६

लोकप्रिय