यतिबेला कञ्चनपुरका थारू समुदायका महिलाहरु दसैँका लागि घर सजाउन व्यस्त छन् । दसैँका लागि घर चिटिक्क पार्ने, आँगन सजाउने, माछामासु र दाउराको जोहो गर्ने र किनमेल गर्ने जस्ता कार्यमा यो समुदायका व्यक्ति व्यस्त देखिन्छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का देवी चौधरी घर लिपपोत गर्नमा व्यस्त छन् ।
उनले थारू समुदायमा दसैँमा घर लिपपोत गरेर सजाउनु अनिर्वायजस्तै भएकाले घरआँगन सजाउन लागेको बताए । ‘अहिले घर लिपपोत गर्नेदेखि किनमेल गर्ने चटारो छ,’ उनले भने, ‘दसैँ सुरु हुनुभन्दा अगाडि नै हामी सबै तयारी गरिसक्छौँ, दसैँमा सखिया नाच्ने र रमाउने हो ।’ उनले गाउँमा रहेका अधिकांशले घर लिपपोत गरेर सजाइसकेको बताए ।
थारू समुदायमा दसैँ विशेष चाड भएकाले यसको रौनक एक महिना अघिदेखि नै हुने गर्दछ । ‘दसैँमा पूजा गर्दा कुखुराको मासु, माछा, कुभिन्डो, ढिक्री, रक्सी आदि चाहिन्छ,’ उनले भने, ‘पूजा सएिपछि सबैजना सखिया नाच्ने र रमाइलो गर्ने गर्दछन् ।’ अन्य समुदायको भन्दा यो समुदायमा दसैँ मनाउने चलन पृथक रहेको उनले बताए । पछिल्लो समय सामुदायिक वनले जङ्गलबाट माटो ल्याउन निषेध गरेपछि समस्या भएको उनले बताए ।
‘माटोले लिपपोत गरेर खरले छाएका घर थारू समुदायका पहिचान हुन्,’ उनले भने, ‘सामुदायिक जङ्गलले माटो ल्याउन निषेध गरेपछि यी घरहरु हराउन थालेका छन् । स्थानीय लक्ष्मीराम चौधरी दसैँका लागि सामान जुटाउन व्यस्त छन् । उनले केहीदिन अघिदेखि माछाको जोहो गर्न लागेका छन् ।
‘घरमा महिलाहरु घर लिपपोत गर्न लागेका छन्, म माछाको जोहो गर्दैछु,’ उनले भने, ‘दसैँमा सुकाएको माछा र रक्सी थारू समुदायको विशेष हो ।’ उनले पछिल्लो समय पक्की घरहरु बन्न थालेपछि विगतको जस्तो रौनकता भने नभएको बताए । स्थानीय सीता चौधरीले दसैँका बेला थारू समुदायमा सखिया नाच महत्वपूर्ण भएको बताए ।
‘दसैँको बेला सखिया नाच रातभरि हुने गर्दछ, यो नाचमा भगवानको मात्रै महिमा हुन्छ,’ उनले भने, ‘पछिल्लो समय विभिन्न कारण एक महिना खेलिने यो नाँच छोटिँदै गएको छ ।’ टीका लगाइसकेपछि सबै गाउँले भेला भएर सखिया नाच नाच्ने चलन छ । पछिल्लो समय यो नाच लोप हुँदै गएको छ ।
‘पहिलेको जस्तो रातभर नाच्ने गाउने चलन त हराइसकेको छ,’ उनले भने, ‘अहिले संस्कृति जोगाउनलाई भए पनि कार्यक्रमको आयोजना गरी सखिया नाच्ने गरिन्छ ।’ पछिल्लो पुस्ता आधुनिकतामा रमाउन थालेपछि सखिया नाचको मौलिकता हराउँदै गएको थारू समुदायका पाका पुस्ता बताउँछन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । कञ्चनपुर