सूचनाको शक्ति - The Power Of Information

        

इजरायल युद्ध

हमासले थाई नागरिकसँगै लगेका विपिनको अवस्था अझै अज्ञात

हमास लडाकुले प्रहार गरेको एउटा ग्रिनेडलाई विपिनले हातैले टिपेर बंकर बाहिर फालेर साथीहरूलाई बचाएका थिए ।

प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणपछि बेपत्ता कञ्चनपुरका विपिन जोशीको अवस्था अझै अज्ञात छ । असोज २० मा हमासले गरेको आक्रमणमा १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए ।

किबुज अलुमिमबाट विपिनलाई विद्रोही समूहले आफूसँगै लगेको थियो । अपहरणपछि बेपत्ता पारिएका नेपाली विद्यार्थी विपिनका साथीहरूका अनुसार हमास लडाकुहरूले आक्रमण गर्दा उनी बंकरमा नै थिए ।

हमास लडाकुले प्रहार गरेको एउटा ग्रिनेडलाई हातैले टिपेर बंकरबाहिर फालेर साथीहरूलाई बचाएका थिए । पछि लडाकुहरूले विपिनलाई किबुज अलुमिमबाट थाइल्यान्डका नागरिकसँगै लगेको गोरखाका हिमाञ्चल कट्टेलले बताए ।

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत कृषि विज्ञान संकायको अन्तिम सेमेस्टरमा अध्ययनरत विपिन ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका थिए ।

‘विपिनको खोजीका लागि कूटनीतिक क्षेत्रमा छलफल गरिराखेका छौं । उहाँको लोकेसन लोकेट गर्ने कोसिस भइरहेको छ,’ परराष्ट्रमन्त्री एनपी साउदले भने, ‘इजरायल सरकारका विभिन्न तहसँग विपिनको खोजीका लागि आग्रह गरिरहेका छौं ।’

परराष्ट्रमन्त्री साउदका अनुसार प्रहरी र अस्पताल लगायत सम्भावित सबै ठाउँमा खोजी तीव्र पारिएको छ । हमाससित असल सम्बन्ध भएका मुलुकहरूसँग पनि यसका लागि पहल भइरहेको छ ।’

इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले पनि विपिनको खोजी भइरहेको बताइन् । ‘उहाँको अवस्था पत्ता लगाउन विभिन्न माध्यम प्रयोग भइरहेको छ,’ उनले भनिन्, ‘तर, थप सूचना प्राप्त भइसकेको छैन ।’

हमास विद्रोहीले अपहरण गरी बन्धक बनाइएकाको संख्या ११९ जना रहेको इजरायली सेनाले बताएको छ । जापट्टीमा राखिएका उनीहरू इजरायली र विदेशी नागरिक छन् ।

सेनाका अनुसार बन्धक बनाइएकाहरूमा बच्चा र विशेष हेरचाह गर्नुपर्ने वृद्धवृद्धासमेत छन् । गाजापट्टीसँग जोडिएको दक्षिण इजरायलको सेदोत लगायत स्थानबाट उनीहरूलाई अपहरण गरिएको थियो ।

हमासले भने आफ्नो नियन्त्रणमा ३० जना मात्रै रहेको दाबी गर्दै आएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई बन्धक बनाइएकालाई मुक्त गर्न पीडित परिवारका सदस्यले दबाब दिइरहेका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार १०:३३

लोकप्रिय