सूचनाको शक्ति - The Power Of Information

        

झुलाघाट नाका पूर्ण रुपमा खुल्यो

भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बुधवारदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ ।

झुलाघाटस्थित महाकाली नदीमा रहेको झोलुंगे पुलको मर्मत सम्भार कार्य भइरहेकाले असोज ९ गतेदेखि आंशिक रुपमा मात्रै आवतजावत भइरहेको थियो । पुल मर्मत कार्य सम्पन्न भइसकेकाले आजदेखि पूर्ण रुपमा आवागमन सुचारु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो ।

यसअघि पुल मर्मतको कामका लागि बिहान ८ बजेर ४५ मिनेटदेखि दिउँसो १ बजेर १५ मिनेटसम्म र दिउँसो २ बजेर १५ मिनेटदेखि दिउँसो ४ बजेर १५ मिनेटसम्म पुलमा आवागमन बन्द हुने गरेको थियोे । पूर्णरूपमा नाका सुचारू भएसंगै अब बिहान ६ बजेदेखि साँझ सात बजेसम्म आवागमन हुनेछ ।

झुलाघाट नाका पूर्ण रुपमा सञ्चालनमा आएसंगै दशैंका लागि घर फर्कने नागरिकलाई सहज भएको छ । बैतडीका शक्तिपीठहरुमा दर्शनका लागि आउने भारतीय दर्शनार्थीहरुलाई समेत सहज भएको छ । बैतडीका निङ्गलाशैनी, त्रिपुरासुन्दरी, मेलौली, उदयदेव लगायतका मन्दिरहरुमा दर्शनका लागि दशैंको समयमा भारतीय दर्शनार्थीहरु समेत आउने गरेका छन् ।

झुलाघाट नाकामा करीब दुई सय वर्षअघि इष्टइण्डिया कम्पनीले निर्माण गरेको झोलुंगे पुलबाट आवतजावत हुँदै आएको छ । पुल जीर्ण भएपछि सीमा समन्वय बैठकमा पुल मर्मत सम्भार गर्ने निर्णय भएको थियो । पुल मर्मतका लागि नाका बेलाबेलामा बन्द गर्ने गरिएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार १०:३१

लोकप्रिय