सूचनाको शक्ति - The Power Of Information

        

मनाङमा हिमपात, किसान खुसी

हिमाली जिल्ला मनाङमा सुरुआती हिमपात भएको छ । गत वर्ष यो समयमा हिमपात भएको थिएन । जिल्लाका माथिल्लो क्षेत्रमा हिमपात भएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले जानकारी दिए ।

‘विगतमा हिमपात नहुँदा किसानलाई सकस भएको थियो, यस वर्ष समयमा नै सुरुआत भएको छ,’ अध्यक्ष गुरुङले भने । उनका अनुसार तिलिचो ताल क्षेत्र, थोराङ्ला भञ्ज्याङ, आइलेक लगायत माथिल्लो क्षेत्रमा हिमपात भएको छ ।

हिमपात हुन सुरु भएपछि स्थनीयवासीमा खुसियाली छाएको छ । समयमा हिमपात हुँदा किसानलाई फाइदा पुग्ने स्थानीय बताउँछन् । स्थानीय याङदुङ गुरुङले समयमा हिमपात हुँदा किसानमा खुसी छाएको बताए ।

‘हिमपात नहुँदा पानीको अभावले उत्पादन कम हुन्छ, यहाँ हिउँकै भरमा खेतीपाती हुने भएकाले अहिले सुरुआत भएको छ, यसले किसानलाई फाइदा हुन्छ,’ उनले भने । हिमपात भएपछि याक, चौँरीलाई घाँस पनि राम्रोसँग पलाउने गुरुङले बताए ।

‘हिमपातको सुरुआत भएकाले मङ्सिरको पहिलो सातादेखि खर्कबाट याक, चौँरी बेसी झार्ने बेला भएको छ,’ उनले भने । हिमाली जिल्लाका मानिसलाई त हिमपात भएपछि खुसी हुने गरेको उनले बताए ।

गत वर्ष हिमपात नहुँदा खेतीबालीलाई पानीको अभाव भएको थियो । यस वर्ष समयमा नै हिमपातको सुरुआत हुँदा उत्पादन बढ्ने अपेक्षा गरिएको छ । समयमा नै हिमपात भएपछि जमिनको तल्लो सतहसम्म पानीले भिज्ने र उत्पादन राम्रो हुने गुरुङले बताए ।

गुरुङले भने, ‘पहिले पहिलेको तुलनामा अहिले हिमपात कम हुने गरेको छ, तर पनि समयमा परिदिए राम्रो हुने थियो, उत्पादन राम्रो हुने आशा लिएका छौँ, यस वर्ष समयमा नै सुरु भएको छ ।’ यहाँ उत्पादन हुने स्याउ, करु, जौ, फापर, आलु लगायतका बाली पानी पुग्ने हुन्छ ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार ०८:२१

लोकप्रिय