सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० कार्तिक १ गते बुधवारको राशिफल

२०८० कार्तिक १ गते बुधवार, १८ अक्टोबर २०२३ । आश्विन शुक्लपक्ष चतुर्थी तिथि । अनुराधा नक्षत्र । चन्द्रराशि वृश्चिक ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

परिस्थिति केही असहज रहने समय छ । अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् । कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपर्ला । चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम गर्न सकिनेछ । वादविवादमा अघि नसर्नुहोला । सावधानीले नै सम्भावित समस्या टर्न सक्छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । कामको सफलताले हौसला जगाउनेछ । व्यापार बढ्नेछ । व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । सोखले भौतिक साधन जुटाउन प्रेरणा प्राप्त हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

यसअघि रोकिएको काम प्रारम्भ गर्न सकिनेछ । द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । योजनाअनुसार समयमै काम बनाउन सकिनेछ । प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् । स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । पेसा–व्यवसायमा फाइदा हुनेछ । आस मारेको नतिजासमेत सकारात्मक हुनेछ । यात्राको प्रक्रिया अघि बढ्ने समय छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । अध्ययनमा समय दिन नसकिएला । अरूका काममा चासो लिँदा झमेला बेहोर्नुपर्ला । तापनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । यात्रा गर्ने अवसर जुट्न सक्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आश्वासन दिनेहरूले आफ्नो प्रतिबद्धता पूरा नगर्न सक्छन् । हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ । आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुन सक्छ । कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ । तर, फाइदा मात्र हेर्दा नाम बिग्रन सक्छ । बलजफ्तीले काम बिग्रन सक्छ । पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

नयाँ काम प्रारम्भ गर्ने समय छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ । लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ । मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

अध्ययनशील प्रवृत्तिले फाइदा दिलाउनेछ । बोलीको प्रभाव बढ्नेछ र अभिव्यक्ति कलामा निखारता आउनेछ । काममा साथ दिनेहरू बढ्नेछन् । नयाँ कामको प्रस्ताव आउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ । बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । रमाइलो यात्रा हुनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । काममा विशेष अवसर प्राप्त हुनेछ । पहिलेको सफलताले पनि हौसला जगाउनेछ । व्यापारमा फाइदा हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

समयमा होस नपुग्नाले केही रकम बाहिरिनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ । अवसरका लागि केही दौडधुप गर्नुपर्ला । खर्चिलो काम गर्नुपर्ने हुँदा धेरै रकम जुटाउनुपर्ला । खर्च लागे पनि यात्राको साइत जुर्न सक्छ । वैदेशिक रोजगारीमा हुनेहरूलाई भने फाइदै हुनेछ । किनमेलमा भने अधिक खर्च हुन सक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । मनग्य नाफा कमाउन सकिनेछ । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ भने उठ्नुपर्ने रकम तत्काल हातलागी हुनेछ । सहयोगीहरूको साथले चिताएका काम सम्पादन हुनेछन् । प्रतीक्षित नतिजाले जीवनशैलीमा परिवर्तन आउनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

परिस्थितिवश चिताएको काम पूरा नहुन सक्छ । सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन् । नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला । अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ । तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ । अध्यात्मभाव जागृत हुनुका साथै धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार ०७:१४

लोकप्रिय