सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीमा कालोसूचीमा परेकालाई करोडौंको ठेक्का

नेपाल प्रहरीको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयले दोब्बरभन्दा बढी मूल्यमा बन्दोबस्तीका सामान खरिदमा गरिएको तथ्य खुलेको छ । यसअघि प्रतिगोटा ३५० रुपैयाँमा खरिद गरिएको प्रहरीको ब्यारेट क्याप यसपटक ७७५ रुपैयाँ दरमा तेजसम इन्टरप्राइजेजलाई ठेक्का दिन लागिएको छ ।

भारतमा ३०० देखि बढीमा ३५० रुपैयाँ पर्ने ब्यारेट क्यापलाई तेजसमले ७७५ रुपैयाँमा सप्लाई गर्नेगरी ठेक्का पाएको हो । आर्थिक प्रस्ताव खोलिसकेकाले एक दुई दिनमै तेजसमले पत्र पाउने स्रोतले बताएको छ । प्रहरीले ४६ हजार वटा ब्यारेट क्याप खरिद गर्दैछ । गत बर्षसम्म १ करोड ६१ लाखमा खरिद गरेको ब्यारेट क्याप अहिले ३ करोड ५६ लाख ५० हजारमा खरिद गर्ने भएको स्रोतले बताएको छ ।

एक बर्षमा डेढ करोड महंगोमा ब्यारेट क्याप खरिद गर्न लागेको हो । तेजसमले सिंगापुर प्रहरीले लाउने बिशेषखालको ब्यारेट क्याप भनेर भ्रममा पारी दोब्बर भन्दा बढीमा आपूर्तिको ठेक्का पाएका छन् । तर उक्त ब्यारेट क्यापको गुणस्तर भने विगतकै जस्तो भएको स्रोत बताउँछ । प्रहरीको प्रबन्धका डीआइजी केदार ढकाल र प्रशासन विभागका एआइजी मिरा चौधरी छन् ।

यद्यपि, टेण्डरको मूल्यांकनदेखि सबै काम भने चौधरी आउनुअघि नै सकिएको थियो । ब्यारेट क्यापका लागि लागि प्रतिगोटा ७७५ रुपैयाँ नै बजेट छुट्याइएको थियो । तेजसमका सञ्चालक टोपेन्द्र बीसीले सेटिङमै फुल रेटमै बोलपत्र पेश गरेको र सिंगापुरको डिजाइन भनेर भ्रममा पारी बोलपत्रमा आफ्नो स्पेक सुरुमै पास गराएका थिए ।

सुरुमै तेजसमको स्पेक पास गरी अरुको डिस्क्वालिफाई (अयोग्य) बनाएर प्रतिस्पर्धा हुन नदिई सेटिङमा दोब्बर मूल्यमा टेण्डर दिन लागिएको स्रोतले बताएको छ । केही कम्पनीलाई प्राबिधिक परीक्षणमा फेल गराई तेजसमलाई ठेक्का दिइएको छ । सबैभन्दा महत्वपूर्ण कुरा टेण्डर बिट गर्ने कम्पनीले कुन कम्पनीबाट उत्पादन भएको सामान हो, त्यो कम्पनीको म्यानुफ्याक्चर्स प्रमाणपत्र पेश गर्नुपर्छ ।

तर तेजसमले प्रहरीमा पेश गरेको ब्यारेट क्याप कुन कम्पनीबाट उत्पादन भएको हो भन्ने म्यानफ्याक्चर्स समेत पेश नगरेको स्रोतको दाबी छ । उत्पादन कम्पनीको डकुमेन्ट नै नभएको कम्पनीको उत्पादन प्रहरीको प्रबन्ध निर्देशनालयले दोब्बरभन्दा बढी मूल्यमा खरिद गर्न लाग्नुले यसमा सेटिङको आशंका गरिएको छ । तेजसम इन्टरप्राइजेज नेपाल टेलिकमका कर्मचारी टोपेन्द्र बीसीको कम्पनी हो ।

उनी सरकारी जागिरे भए पनि प्रहरी, सशस्त्र प्रहरी र सेनाको ठेक्कापट्टामा सक्रिय छन् । उनी टेलिकममा काम नगरी ठेक्कापट्टामै ब्यस्त रहने गरेका छन् । उत्पादन कम्पनी नै नखुलेको ब्यारेट क्याप खरिद गर्न लागेको प्रहरीले कालोसूचीमा राख्नका लागि प्रक्रिया अगाडि बढाएको जेएमबीडी इन्टरनेशनल प्रालिलाई कटन पाइन्ट र ऊलन सर्टको ठेक्का दिन लागेपछि विवाद भएको छ ।

उक्त कम्पनीलाई दिन लागेको टेण्डरको बिषय चर्किएपछि रद्द गर्न प्रबन्ध निर्देशनालयमा दबाब परेको छ । गएको साउन ७ गते प्रहरीले १९ किसिमका सामान खरिदको टेण्डर गरेको थियो । ती सामानको प्राविधिक परीक्षण गरी छनोट भएका सप्लायर्सको नाम असोज १४ गते निकालिएको थियो । असोज २२ गते आर्थिक प्रस्ताव खोलिएको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलवार १०:०४

लोकप्रिय