सूचनाको शक्ति - The Power Of Information

        

विपिन जोशीको खोजीका लागि अन्तर्राष्ट्रिय पहल थालियो

इजरायलमा सम्पर्कविहीन बनेका विपिन जोशीको खोजी कार्य जारी छ । त्यसका लागि नेपाल सरकारले इजरायल सरकारसँग पहल गरिरहेको छ । सोही आधारमा उनको खोजी कार्य जारी रहेको सरकारले जनाएको छ ।

उनको खोजीका लागि सरकार अन्तर्राष्ट्रिय समुदायको समेत सहयोग माग गरेको छ । यसका लागि हमासलाई सहयोग गर्दै आएका देशहरूसँग छलफल थालिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेशमन्त्रीसँग टेलिफोन कुरा गरेका छन् ।

कतारी विदेशमन्त्रीसँग टेलिफोन कुरा भएको विषयमा परराष्ट्र मन्त्रालयले केही जानकारी दिएको छैन । तर, कतारका संचारमाध्यमहरूले नेपाल र कतारका विदेशमन्त्रीबीच टेलिफोन वार्ता भएको उल्लेख गरेका छन् ।

टेलिफोन सम्पर्कमा जोशीको खोजीका लागि गाजास्थित हमास समूहसँग पहल गरिदिन अनुरोध गरेको कतारी संचारमाध्यमहरूले जनाएका छन् । सोमबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री साउदले अरब देशरूसँग समेत जोशीको खोजीका लागि पहल भइरहेको बताएका थिए । गत शनिबार गाजास्थित हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

उक्त आक्रमणमा परेर ४ जना विद्यार्थी घाइते भएका छन् भने जोशी बेपत्ता छन् । उनी हमास समूहको नियन्त्रणमा रहेको आशंका गर्दै सरकारले सोही आधारमा पहल थालेको हो । कतारका विदेशमन्त्रीसँग हमास समूहको नियन्त्रणमा रहे नरहेकोबारे जानकारीका लागि पहल गरिदिन मन्त्री साउदले अनुरोध गरेका हुन् ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार १६:४४

लोकप्रिय