सूचनाको शक्ति - The Power Of Information

        

नौबस्ता क्षेत्रीय कारागारमा बालबन्दी स्थानान्तरण गरिँदै

बाँकेको बैजनाथ गाउँपालिका–३, गाभरस्थित नौबस्ता क्षेत्रीय कारागार ।

देशका विभिन्न बाल सुधारगृहमा बबाल मच्चाउने १८ वर्ष माथिका बालबन्दीहरुलाई बाँकेको बैजनाथ ३, गाभरस्थित नौबस्तामा निर्माण गरिएको क्षेत्रीय कारागारमा राख्न सुरु गरिएको छ ।

विभिन्न प्रकृतिका अपराध गरेर बाल सुधारगृहमा पुगेर १८ वर्ष नाघेका बालबन्दीले देशका विभिन्न ठाउँमा बबाल गरेपछि उनीहरूलाई नौबस्तास्थित क्षेत्रीय कारागारमा राख्न सुरु गरिएको हो ।

देशका विभिन्न बाल सुधारगृहबाट १८ वर्षमाथिका ४६ जना बालबन्दीहरुलाई नौवस्ता क्षेत्रीय कारागारमा ल्याएर राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिए । १८ वर्षमाथिका बालबन्दी रहने बाल सुधारगृह सञ्चालनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले नासु स्तरको कर्मचारी खटाएको उनले बताए ।

प्रजिअ पोख्रेलले बैजनाथस्थित नौवस्ता क्षेत्रीय कारागारको चार वटा ब्लकमध्ये एउटा ब्लकमा बाल सुधारगृह सञ्चालन गरिएको जानकारी दिनुभयो । अन्य तीन वटा ब्लक भने सञ्चालन हुन सकेका छैनन् । ती ब्लकहरूमा नेपालगन्जस्थित पुरानो कारागारका कैदीहरूलाई स्थानान्तरण गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

कैदी स्थानान्तरणका लागि कारागार विभाग र मन्त्रालयसँग समन्वय भइरहेको प्रजिअ पोख्रेलले जानकारी दिए । १८ वर्षभन्दा मुनिका बालक तथा किशोरलाई बाल सुधारगृहमा राख्ने भनिए पनि १८ वर्ष नपुग्दै अपराध गरेका र तोकिएको सजाय काट्दा बढी उमेर भएका बालबन्दीलाई पनि एकै ठाउँमा राख्ने गरिएको थियो ।

उमेर समूह नमिलेका किशोर १८ नाघेका युवाहरूबिच बाँके, ललितपुर लगायत देशका विभिन्न ठाउँमा तनाव हुन थालेपछि सरकारले उनीहरूलाई छुट्टै ठाउँमा राख्न सुरु गरेको बताइएको छ ।

नौ विगाह क्षेत्रफलमा रहेको नौबस्ता क्षेत्रीय कारागार तीन हजार क्षमताको छ । देशभरिकै कारागारमा कैदी बन्दीको सङ्ख्या बढी भएपछि सरकारले नौबस्तामा क्षेत्रीय कारागार बनाएको हो । बनेर तयार भए पनि यहाँ कैदी बन्दी राख्न भने अझै सुरु गरिएको छैन ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार १६:१२

लोकप्रिय