बाँके जिल्ला बैजनाथ गाउँपालिका–१ मा रहेको बहिरा अपाङ्ग बालगृहमा ४४ जनाभन्दा बढी विभिन्न जिल्लाका बहिरा अपाङ्ग बालबालिकाहरू रहेका छन् । रेरी बाँकेले बहिरा अपाङ्ग बालबालिकाहरूका लागि निःशुल्क रुपमा खाने बस्ने व्यवस्थासहित सो बालगृह सञ्चालनमा ल्याएको छ ।
उक्त बालगृहमा बस्दै आएका बहिरा अपाङ्ग बालबालिकाहरुमध्ये श्री दहित आधारभूत माध्यमिक विद्यालयमा ३७ जना निःशुल्क अध्ययन गरिरहेका छन् भने बाँकी सूर्योदय उच्च मावि चिसापानीमा अध्ययनरत छन् ।
ती विद्यालयमा जुम्ला, हुम्ला, मुगु, कालिकोट, दैलेख, बाँके, बर्दिया, दाङ लगायतका विभिन्न जिल्लाहरूबाट आएका बहिरा विद्यार्थीहरूलाई साङ्केतिक भाषामा पढाइने गरेको उक्त विद्यालयमा दोभासे रुपमा समेत काम गर्दै आएकी शिक्षिका शान्ती शर्माले जानकारी गराइन् ।
उनले १ कक्षादेखि ३ कक्षासम्मका बहिरा विद्यार्थीहरूलाई मात्र छुट्टै राखेर पढाउने गरेको र त्यसपछि ४ कक्षादेखि ८ कक्षासम्म त्यही विद्यालयमा पढाइने र माध्यमिक र उच्च माध्यमिक तहको पढाइका लागि सूर्योदय मावि चिसापानीमा लगिने गरिएको बताइन् ।
दिनभर विद्यालयमा र साँझ र बिहान बालगृहमा रमाउने विद्यार्थीहरूका लागि चाडपर्व लगायत लामो छुट्टीको बेला आफ्नो आफ्नो घर जाने व्यवस्था समेत रेरी बाँकेले गरेको छ । बालगृहमा रहेका अधिकांश बालबालिकाले बहिरा अपाङ्ग भएर पनि आफूहरूले पढ्न लेख्न पाउँदा निकै हर्षित भएको प्रतिक्रिया दिएका छन् ।
श्री दहित आधारभूत माध्यमिक विद्यालयमा हाल दुई जना मात्र बहिरा अपाङ्ग शिक्षक शिक्षिकाले पढाउँदै आएका छन् । विद्यालयमा साङ्केतिक भाषा पढाउने शिक्षक शिक्षिकासँगै भौतिक पूर्वाधार जस्तै खेलमैदानको समेत अभाव रहेको विद्यालय व्यवस्थापनले जानकारी गराएको छ ।
बहिरा अपाङ्ग बालबालिकाहरूको लागि विशेष खालको कार्यक्रम ल्याइनु पर्ने र उनीहरूको भविष्यको लागि स्थानीय सरकार मात्र नभई प्रदेश र केन्द्रीय सरकार समेत निरन्तर लागि रहनु पर्ने साङ्केतिक भाषा पढाउने बहिरा अपाङ्ग शिक्षिका अन्जु परियारले बताइन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके