सूचनाको शक्ति - The Power Of Information

        

हवाई टिकटमा ठूलाबडाको वर्चश्व

दसैंका बेला जहाजको टिकट सर्वसाधारणको पहुँचभन्दा बाहिर

सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा सधैँ जहाजको समस्या ।

सडक सञ्जाल नपुगेका सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली क्षेत्रका सर्वसाधारणलाई हवाई टिकट पाउन सधैँ मुस्किल हुने गरेको छ । मौसमको प्रतिकूलता र एयरलाइन्सहरूको सिमित उडान भएकाले हवाई टिकटमा ठूलाबडाको मात्रै वर्चश्व हुने गरेको देखिन्छ ।

अझ दसैंका बेला नेपाल वायुसेवा निगमका उडानहरू अत्यन्त न्यून हुनु, निजी एयरलाइन्सहरूले पनि नियमित उडानलाई भन्दा चार्टर उडानलाई प्राथमिकतामा राखेका कारण नियमित हवाई उडानमा सर्वसाधरणलाई टिकट पाउन मुस्किल हुने गरेको हो ।

नेपालगञ्जबाट हिमाली क्षेत्रमा उडानका लागि सर्वसाधरणले हवाई टिकट पाउन कि त ठूला नेतालाई भन्नुपर्छ कि त विचौलियालाई । सामान्य ढंगले आफैँ टिकट लिन्छु भन्ने हो भने महिनौँसम्म पनि टिकट पाउन नसकिने अवस्था त्यस क्षेत्रको छ ।

सुत्केरी गराउन नेपालगन्ज आएकी लुम्बिनी प्रदेश रुकुमपूर्वकी टीका शाहले घर फर्कनका लागि जहाजको टिकट पर्खिरहेकी छिन् । नेपालगन्ज आउने समयमा पनि जहाजको टिकट सहज पाइएको थिएन । रुकुमपूर्व सिस्ने गाउँकी टीका जिल्लामा सुविधा सम्पन्न अस्पताल नभएपछि सुत्केरी सेवा लिन नेपालगन्ज आएकी थिइन् ।

१८ दिनकी सुत्केरी टीकासँग जहाजको टिकट छैन । पाइन्छ कि भन्ने आशामा विमानस्थलमा बच्चा लिएर यता उता गरिरहेकी छिन् । उनी भन्छिन्, ‘फ्लाइट पनि गारो छ । पाइँदैन । उतै अप्रेशन भएपनि ब्लड पाइँदैन । आईसियु छैन । सेवा सुविधा केही पनि छैन । सके पनि नसके पनि यही (नेपालगन्ज) आउनुपर्ने बाध्यता छ । यहाँ समयमा फ्लाइट नै पाइँदैन ।’

रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिका–८ की निशा सेन बोहरा पनि सुत्केरी गराउन नेपालगन्ज आइन् । जुम्ल्याहा नानीहरूकी आमा निशाको पनि जहाजको टिकट नपाउँदा घर फर्कने टुंगो छैन । एक महिना भइसक्यो नेपालगन्ज होटलमा बसेको अझै कतिदिन बस्नुपर्ने हो भन्ने पिरलो उनमा पनि देखिन्छ ।

निशाले भनिन्, ‘म डेलिभरीको लागि यहाँसम्म आएको हो । रुकुमपूर्वदेखि पश्चिम पठाइदियो । दुईवटा बच्चा छ नेपालगन्ज जानुपर्छ भनेका कारणले यहाँसम्म आए । यहाँ आएपछि अप्रेशन भयो । चार दिन हस्पिटल बसेको हो । अनि होटलमा एक महिना बस्यौ । अब घर जान लागेको । जहाजको टिकट मिल्दैन भन्नुभएको छ ।’

कर्णाली प्रदेश हुम्ला जिल्ला खार्पूनाथ गाउँपालिका–४ का विष्णुबहादुर शाही नेपाल वायुसेवा निगमका कम उडान र भएका उडान पनि समयमा नहुने भएकाले समस्या भएको बताउँछन् । कसैलाई भनसुन नगरि हवाई उडानको टिकट पाउन नसकिने अनुभव उनको छ । ‘नेपाल वायुसेवा निगमले रेगुलर उडान गरे निजी एयरलाइन्सको भर पर्न नपर्ने उनी बताउँछन् ।

शाही भन्छन्, ‘नेपाल वायु सेवा निगमलाई सिस्टममा ल्याउन सकिएको छ । मुख्य समस्या यही हो । प्राईभेट भनेको त पैसा कमाउनका लागि नै बनेका संस्था हुन् । मुख्य कुरा टिकट नै पाइदैँन । सामान्य मान्छे गएर टिकट पाउने सम्भावना छैन । च्यानलमा जानुपर्छ । नेताको ज्याक लिएर जानुपर्छ । टिकट पाउन बहुत गारो छ । विमानस्थल छिर्दै गर्दा हातमा टिकट लिएर आउन पाउने अवस्था कहिले आउँला ?’

विदेशी टोली आउँदा दिनमा पाँच वटासम्म चार्टर गर्ने निजी एयरलाइन्सहरूले ती उडानमा स्थानीयका लागि एउटा पनि सिट राख्दैनन् । कार्गो उडान गर्ने, विदेशी ओसार्ने तर आफूहरू बिरामी हुँदा पनि उडानको टिकट नपाएर उपचार अभावमा ज्यान गुमाउनुपर्ने भन्दै स्थानीयहरू हवाई उडान सेवाप्रति नै आक्रोशित बन्दै गएका छन् ।

नेपाल वायुसेवा निगमले सातामा निकै कम उडान भर्ने र नियमित उडानको समयमा पनि उडान नगरी स्थगित गर्ने भएकाले पनि समस्या भएको धेरैको गुनासो छ । निगमको जहाजको उडान धेरैजसो स्थगित भइरहँदा निजी एयरलाइन्ससँग मिलेमतो भएको शंका पनि स्थानीयको छ । निजी एयरलाइन्सहरूले पनि नियमित उडान स्थगित गरेर चार्टर उडान गर्ने गर्दा बल्ल बल्ल टिकट पाएका सर्वसाधारण चर्को भाडा तिर्न बाध्य हुने गरेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार १४:००

लोकप्रिय