काठमाडौं उपत्यकामा दुई सातायता डेंगी संक्रमण उकालो लागेको छ ।
यो क्रम अझै केही साता चल्ने चिकित्सकले बताएका छन्। डेंगी संक्रमण तीव्र बन्दै जाँदा उपत्यकाका प्रमुख अस्पतालहरूमा बिरामी बढ्दै गएका छन्।
निजामती कर्मचारी अस्पताल बानेश्वरका अनुसार त्यहाँ डेंगीका ३५ जना बिरामी भर्ना छन्। त्यस्तै डेंगी संक्रमणका कारण शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा नौजना र वीर अस्पतालमा २० जना भर्ना भएका छन्।
अहिले वीर अस्पतालमा जँचाउन आउनेमा दैनिक सरदर १८ देखि २० जनामा डेंगी संक्रमण पुष्टि हुने गरेको फिजिसियन डा. सुरेन्द्रलाल श्रेष्ठले बताए । उनले गम्भीर अवस्था भएमा मात्र भर्ना लिएर उपचार गरिने बताए।
स्वास्थ्य सिकायत लिएर आउनेमा दैनिक एक दर्जन भन्दा बढीमा डेंगी संक्रमण देखिने गरेको शुक्रराज ट्रकिपल तथा सरुवा रोग अस्पतालले जनाएको छ। पहिला अन्य जिल्लाबाट आउने संक्रमित बढी भए पनि दुई सातायता उपत्यकाकै बढी संक्रमित भएको अस्पतालकी निर्देशक डा. मनीषा रावलले बताइन् ।
अस्पतालका अनुसार भर्ना भएका बिरामीमध्ये केहीको आइसियुमा उपचार भइरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत माघयता मुलुकमा १३ सय ८० जनामा डेंगी संक्रमण पुष्टि भएको छ। पछिल्लो दुई सातामा २ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ। कुल संक्रमितमध्ये २० जनाको मृत्यु भइसकेको छ।
हरेक वर्ष त्रास
उपत्यकामा विगतमा डेंगी सक्रमण भएका स्थानहरूमै यसपटक पनि संक्रमण बढी देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अनुसन्धान शाखा प्रमुख डा. शेरबहादुर पुनले बताए।विगतमा जस्तै यसपटक पनि कालीमाटी, कलंकी, डल्लु, कपनलगायत क्षेत्रबाट डेंगी संक्रमित अस्पताल पुगेका छन्। धेरै बिरामीले निजी अस्पतालमा उपचार गराउने भएकाले यकिन तथ्यांक आउन नसकेको पुनले बताए।
उनी भन्छन्, ‘विगत वर्षहरूमा जस्तै अहिले पनि यिनै टोलहरूबाट बिरामी उपचारका लागि आएको देखिन्छ’, उनले भने। यसको अर्थ एडिस लामखुट्टेको बासस्थानका रहेका काठमाडौंमा ती क्षेत्र डेंगी संक्रमणका लागि उर्वर देखिएको उनले बताए।
चिसो मौसम सुरु भइसक्दा पनि डेंगी संक्रमण बढ्नुको पछि एडिस लामखुट्टेमा प्रतिरक्षा क्षमता वृद्धि भएको अनुमान पुनको छ। पुनका अनुसार गाडी मर्मत गर्ने ग्यारेज भएका क्षेत्र, पानी भण्डारण गर्ने टोलहरू र पानी जम्मा हुने क्षेत्र एडिस लामखुट्टेको वृद्धिका लागि अनुकूल हुन्छ। उपत्यकाका विभिन्न टोलमा सफाइको कमी, ड्रम, बाल्टिनमा नढाकीकन पानी राख्दा समस्या बर्सेनि बल्झिएको हो ।
अझै एक महिना डेगी संक्रमणको जोखिम हुने वीर अस्पतालका फिजिसियन डा. श्रेष्ठले बताए। डेंगी सार्ने लामखुट्टेका लार्भा नष्ट गर्न सके जोखिम कम हुने उनले बताए।
पानीको उचित व्यवस्थापन र सफाइ नगर्ने, टायर जथाभावी फाल्ने, लामखुट्टेविरुद्धको अभियान नचलाउने हो भने उपत्यकामा हरेक वर्ष डेगी संक्रमण भइरहने पुन बताउँछन्। सन् २०१९, २० र २२ मा पनि मनसुन सकिएपछि अहिले जस्तै डेंगी संक्रमित अस्पतालमा आएको उनले सुनाए।
डेंगी सार्ने लामखुट्टे रातमा भन्दा दिनमा सक्रिय हुन्छ। यो लामखुट्टेको टोकाइबाट जोगिन पूरा शरीर छोपिने कपडा र जुत्ता लगाउनुपर्ने लामखुट्टेविरुद्धको मलम लगाउनुपर्ने, घरवरिपरि र टोल सफा राख्नुपर्छ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ