सूचनाको शक्ति - The Power Of Information

        

आजदेखि पूर्णरुपमा बाहिरियो मनसुन

गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यसवर्षको मनसुन आज रातिबाट पूर्णरुपमा बाहिरिने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख (यस वर्षको असोज १५ गते) भए पनि मनसुन औसत मितिभन्दा दुईसाता ढिलो बाहिरिएको हो ।

महाशाखाका अनुसार नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ र बहिर्गमन सयम अक्टोबर २ तारिख हो । यसवर्ष सरदर मितिभन्दा एक दिन ढिलो मनसुन भित्रिएको थियो । नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भू–भाग भएर यही असोज १९ गते यसवर्षको मनसुन बाहिरिएको थियो ।

असोज २७ गते देशको गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका सम्पूर्ण भू–भाग तथा बागमती प्रदेश र मधेश प्रदेशका आंशिक भू–भागबाट बाहिरिएको छ । यसअघि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश साथै लुम्बिनी प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशको पश्चिमी भू–भागबाटसमेत मनसुन बाहिरीसकेको छ ।

‘मनसुन पूर्णरुपमा बहिर्गमन हुने अवस्थामा छ,’ महाशाखाका मौसमविद् रोजन लामिछानेले भने, ‘साँझसम्म मनसुन बाहिरिने अनुमान गरिएको छ । आजै मनसुन विशेष बुलेटिन आउनसक्छ ।’ उनका अनुसार मनसुन अहिले कोशी प्रदेशमा केन्द्रित छ । मधेश र बागमती प्रदेशका थोरै स्थानमा बाँकी छ । हाल नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ ।

जसका कारण आगामी दिनदिनसम्म देशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् लामिछानेले जानकारी दिए । अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । देशका पहाडी भू–भागमा थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मनसुन अवधिमा ८८ दशमलव पाँच प्रतिशत वर्षा

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाँईका अनुसार नेपालमा यसवर्ष मनसुन अवधिमा ८८ दशमलव पाँच प्रतिशत वर्षा भएको छ । यो मनसुनको अवधि जुनदेखि सेप्टेम्बर महिना अर्थात् चार महिनामा सरदरभन्दा कम वर्षा भएको हो । नेपालमा मनसुन अवधिमा सरदर एक हजार ४७२ मिलिमिटर वर्षा हुने गरेकामा यसवर्ष मनसुन अवधिमा एक हजार ३०३ मिलिमिटर वर्षा भएको हो ।

काठमाडौंमा एक हजार २८३ मिलिमिटर वर्षा भएको छ । जुन सरदरको १०९ प्रतिशत हो । काठमाडौंमा मनसुन अवधिमा सरदर एक हजार १७६ दशमलव चार मिलिमिटर वर्षा हुन्छ । त्यसैगरी ओखलढुङ्गामा एक हजार ४९२ दशमलव एक मिलिमिटर वर्षा भएको छ । सबैभन्दा कम जनकपुरमा ६३७ दशमलव एक मिलिमिटर वर्षा मापन गरिएको छ । जनकपुरको सरदर वर्षा एक हजार १९५ दशमलव आठ मिलिमिटर हो ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतवार १७:०६

लोकप्रिय