सूचनाको शक्ति - The Power Of Information

        

भारतबाट फेरी चढेरै पुगिन्छ श्रीलंका

भारत र श्रीलङ्काले ४० वर्षपछि डुङ्गा सेवा शनिबारदेखि पुनः सञ्चालन गरेका छन् । भारतको तमिलनाडु राज्यको पूर्वी तटमा रहेको नागापट्टिनम र श्रीलङ्काको उत्तरी प्रान्तको जाफना नजिकै कान्केसानथुराईबीच यो सेवा सुरु गरिएको हो ।

भारतका बन्दरगाह, पानीजहाज तथा जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले नागापट्टिनम बन्दरगाहमा सेवा सञ्चालन खुला भएको सङ्केतस्वरूप डुङ्गालाई हरियो झण्डा देखाएर डुङ्गामा आएका यात्रीलाई स्वागत गरे ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यमबाट उद्घाटन समारोहलाई सम्बोधन गर्दै श्रीलङ्काका राष्ट्रपति, सरकार र त्यहाँका जनतालाई नौका सेवाको सफल शुभारम्भका लागि धन्यवाद दिए ।

भारतको रामेश्वरम र श्रीलङ्काको तलैमन्नारबीच नौका सेवा पुनः सञ्चालन गर्ने दिशामा काम गर्नेबारे पनि चर्चा गरे । सिपिङ कर्पोरेसन अफ इन्डियाले सञ्चालन गरेको उच्च गतिको डुङ्गाको क्षमता १५० यात्रु रहेको छ ।

नागपट्टिनम र कान्केसानथुराईबीचको करिब ६० नटिकल माइल (११० किलोमिटर)को दूरी समुद्रको अवस्थाअनुसार करिब ३.५ घण्टामा पूरा हुने अधिकारीहरूले बताएका छन् । ५० यात्रु लिएर श्रीलङ्काका लागि छुटेको ‘चेरियापानी’ जहाज साँझपख श्रीलङ्काबाट यात्रु लिएर भारत फर्कने छ ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतवार ०९:५९

लोकप्रिय