सूचनाको शक्ति - The Power Of Information

        

उड्डयन प्राधिकरणद्वारा मनाङ एयरको ‘एओसी’ निलम्बनमा

नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङ एयरको वायुसेवा सञ्चालन प्रमाणपत्र (एओसी) निलम्बन गरेको छ । पछिल्लो तीन महिनाको अवधिमा दुई पटक दुर्घटनामा परेपछि मनाङ एयरको एओसी नै निलम्बन गरेको हो ।

पटक पटक भएको दुर्घटनाका कारण कम्पनीको सम्पूर्ण हेलिकप्टरको अवस्था चेकजाँच गर्ने र प्रक्रिया पुरा नभएको वा त्रुटि भेटिएमा सेव सञ्चालन प्रमाणपत्र खारेज गर्ने प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूलले बताए ।

आज बिहान मनाङ एयरको ‘एन–एनजे’ कलसाइन हेलिकप्टर दुर्घटना भएको छ । सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा आज बिहान दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा हेलिकप्टरका पाइलट प्रकाशकुमार सेडाइ घाइते भएका छन् । उनको उद्धार गरी अहिले काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । पाइलट सेडाइ खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

लोबुचेको हेलिप्याड नजिकै दुर्घटनाग्रस्त हेलिकप्टरमा पाइलट सेडाइ मात्र रहेका थिए । यस्तै तीन महिनाअघि मनाङ एयरको हेलिकप्टर सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकामा दुर्घटना हुँदा पाइलट चेतबहादुर गुरुङसहित ५ जनाको मृत्यु भएको थियो । खराब मौसमका कारण सो दुर्घटना भएको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार ११:३८

लोकप्रिय