सूचनाको शक्ति - The Power Of Information

        

मध्यपश्चिम विश्वविद्यालयको बेरुजु एक अर्बभन्दा बढी

एक दशकको अवधिमा मध्यपश्चिम विश्वविद्यालयको बेरुजु एक अर्ब १२ करोड ५८ लाख ७७ हजार पुगेको छ । विश्वविद्यालय प्रशासनले सुर्खेतको वीरेन्द्रनगरस्थित शुक्रबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन कार्यक्रममार्फत बेरुजु अवस्था सार्वजनिक गरेको हो ।

विश्वविद्यालयका रजिष्ट्रार प्राडा नारायणप्रसाद पौडेलले स्थापना कालमा उपकुलपति प्राडा पदमलाल देवकोटा र रजिष्ट्रार सह–प्राडा ठगेन्द्रप्रसाद गिरी हुँदाका बखत आव २०६८–०६९ मा ८३ लाख ९८ हजार तथा आव २०७८–०७९ सम्ममा एक अर्ब १२ करोड ५७ लाख पुगेको बताए ।

‘यसमा असुलउपर र सैद्धान्तिक एवं प्रक्रियागत बेरुजु परेको छ,’ रजिष्ट्रार पौडेलले भने । वीरबहादुर पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । उनले असुलउपर गर्ने बेरुजुमा ६३ लाख ६६ हजार ९६४ मा केही प्रतिशत मात्र असुल भएको बताए ।

रजिष्ट्रार पौडेलका अनुसार १२ करोड ४० लाख ५१ हजार बेरुजु सम्परीक्षण गरिएको छ । अझै करिब एक अर्ब बेरुजु विश्वविद्यालयले फर्स्योट गर्न बाँकी छ । आर्थिक वर्ष २०७५–०७६ मा उपकुलपति प्राडा उपेन्द्रकुमार कोइराला र रजिष्ट्रार डा.महेन्द्रकुमार मल्लको पदावधिमा सबैभन्दा बढी ४० करोड ५९ लाख ६० हजार (३६.०४) प्रतिशत बेरुजु आएको उनको भनाइ छ ।

विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले करिब १३ वर्षको बेरुजुलाई सबै आफ्नो पालामा गरेकोजस्तो गरेर सामाजिक सञ्जाल तथा समाचार माध्यमबाट आएपछि त्यसको भ्रम हटाउन पत्रकार सम्मेलन कार्यक्रम गरिएको बताए ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार ११:२९

लोकप्रिय