सूचनाको शक्ति - The Power Of Information

        

दशैं विशेष

भारतबाट ‘दशैं’ लिएर घर फर्किँदै नेपाली

आर्थिक अवस्था कमजोर भएपछि कमाउन मुग्लान पसेका नेपालीहरू वर्षमा एक पटक दशैंको टिका जमरा थाप्न नेपाल फर्किन्छन् ।

भारतको गुजरातबाट दशैं मनाउन फर्किएका दैलेख सिंगौडीका लालबहादुर शाही विहान झसमिसेमै रुपैडिहा बसपार्कमा आइपुगे । उनलाई दुई दिनको यात्रा सकेर रुपैडिहासम्म पुग्दा उनी थकित पनि थिए । उनलाई एउटै कुराको चिन्ता थपिएको थियो, सीमा नाका रुपैडियामा बसेका एसएसवी र भारतीय प्रहरीको गाली र अपमान सहनुपर्छ भन्ने ।

‘कमाएको पैसा घर आँगनमै पुगेको बेला लुटिने आशंकामा डराईडराई जमुनाहासम्म आइपुगेँ,’ शाहीले भने । तर, जब उनी जमुनाहा पुगे, उनले सोचेजस्तो भएन । उनी ढुक्कसँग नेपाल प्रवेश गरे । दुई बर्षसम्म नेपाल नर्फिएका उनी ढुक्कसँग घर पुग्नेमा आशावादी देखिन्थे । उनीजस्तै भारतको सिम्लाबाट नेपाल फर्किँदै गरेका जाजरकोट जगतीपुरका आइते बिकलाई पनि उस्तै चिन्ता थियो ।

उनले भने, ‘सीमामा भारती प्रहरीले दुख दिन्छ, घुस माग्छ, सामान खोतलेर हैरान बनाउँछ भन्ने चिन्ता थियो । तर त्यसो भएन ।’ दशैं नजिकिएसँगै भारतबाट घर फर्किने नेपालीहरुलाई सुरक्षित गन्तव्यसम्म पुर्याउन नेपाल प्रहरीले पनि राम्रै खटनपटन गरिरहेको छ । भारतीय प्रहरीसँगको समन्वयमा रुपैडिहा रेल्वे स्टेसन र बसपार्कमा नेपाल प्रहरी आफै पुगेर यात्रुहरुलाई सुरक्षित साथ नेपाल भित्र्याउने गरेको छ ।

रुपैडिहा रेल्वे स्टेशन र बसपार्कमा हुने ठगी, लुटपाट र अन्य घटनाहरु हुन नदिन नेपाल प्रहरी त्यहाँ पुग्ने गरेको छ । भारतबाट नेपाल आउने नेपाली यात्रुलाई सुरक्षित साथ गन्तव्यसम्म पुर्याउन नेपाल प्रहरीले सीमा नाका जमुनाहामा यात्रु सहायता कक्षसमेत स्थापना गरेको छ । भारतबाट फर्किने नेपालीलाई लुटपाट, ठगी र अन्य अपराधजन्य घटना हुन नदिन यात्रु सहायता कक्षा स्थापना गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले भारतीय प्रहरी, एसएसबी र भारतीय भन्सारसँग समन्वय गरी नेपालीहरुलाई चेकजाँचका क्रममा विना झन्झट सुरक्षित नेपाल आउने व्यवस्था मिलाइरहेको प्रहरी निरीक्षक वलीले बताए । प्रहरीका अनुसार भारतबाट फर्किने नेपालीहरु आफ्नो समूह बनाएर नेपाल फर्किरहेका छन् । दशैं नजिकिदैं गएपछि नेपाल फर्किनेहरुको संख्या बढ्दै गएको छ । अहिले जमुनाहा नाका भएर दैनिक १ हजारको हाराहारीमा नेपालीहरु भारतबाट नेपाल फर्किरहेको प्रहरीले जनाएको छ ।

जाजरकोट शिवालय–२ का खगेन्द्र विक चाडपर्व मनाउन नेपाल फर्किएको बताउँछन् । ‘घर परिवारसँगै चाडपर्व मनाउन घर फर्किएको हुँ,’ उनले भने, ‘तिहारपछि फेरि उतै फर्कन्छु ।’ कुशे गाउँपालिका–५ का हीरालाल टमाटा एक वर्षपछि चाडपर्व मनाउनकै लागि आफू घर फर्किएको बताउँछन् । चाडपर्व मनाएर फेरि भारत नै जाने बताउँदै हीरालालले भने, ‘उता कमाइ ठिकठिकै छ । यता बसेर रोजगारी पाइँदैन, भारत नगई सुखै छैन ।’

कामका लागि भारत गएकाहरु दशैं तिहार मनाउन घर फर्किरहेका छन् । दैनिक आउने नेपालीको संख्या बढ्दै गएको छ, दशैं नजिकिन थालेपछि दैनिक २०० बढी थपिने गरेका छन् । भारतबाट फर्किने नेपालीहरुले गर्दा गत एक महिनाको अवधीमा नेपालगन्जका होटलहरुले समेत राम्रो ब्यवसाय गर्न थालेका छन् । यस अवधीमा यहाँ होटेलहरु भरिभराउ भएका छन् । मध्यपश्चिमका पहाडी जिल्लाबाट बर्षेनी हजारौं नेपालीहरु रोजगारीका लागि भारत जाने गर्छन् ।

आर्थिक अवस्था कमजोर भएपछि कमाउन मुग्लान पसेका नेपालीहरू वर्षमा एक पटक दशैंको टिका जमरा थाप्न नेपाल आउने गरेको बताउँछन् । ‘अरु बेला आउन नसकेपछि दशैंको बेला विदा मिलाएर टिकाजमरा थाप्न घर आएका छौँ,’ श्रीमानसँग भारतको दिल्लीमा कमाउन गएको बताउँदै सुर्खेत चिङ्गाड गाउँपालिका–३ की जमुना विकले भनिन्, ‘वर्षमा आउने ठुलो चार्ड घर त आउनु नै पर्यो नि ।’

चिङ्गाडकै विवेक खड्का दशैँ तिहार मनाउन घर फर्किन पाउँदा खुसी भएको बताउँछन् । ‘चाडपर्वमा घर आउने भन्छौ के–के नमिल्ने यसपाली आउन पाउँदा धेरै खुसी छु । परदेशमा दशैं मनाउनु र आफ्नै गाउँठाउँ र साथीसंगीसँग मनाउन पाउँदा कसलाई खुसी लाग्दैन र ?’ खड्काले भने, ‘दशैं तिहार सकेर फेरि फर्किने हो ।’ आर्थिक स्थिति कमजोर भएकाहरु असार, साउन महिनामा कमाइका लागि भारतका विभिन्न ठाउमा जाने गर्दछन् ।

दशैं–तिहार मनाउन उनीहरु कात्तिक र असोजमा घर फर्किन्छन् । बर्षेनी कामका लागि रोल्पा, रुकुम, सुर्खेत, दैलेख, जाजरकोट, सल्यान लगायतका जिल्लाबाट धेरै नेपालीहरु भारत जाने गरेका छन् । उनीहरु स्याउको मौसम भएका बेला भारतको गढवाल, चन्डिगढ र सिमलामा स्याउ टिप्न जान्छन् । स्याउको सिजन सकिएपछि घर फर्किन्छन् । त्यहाँ जानेमा महिला, पुरुष र बालबालिका समेत रहेका छन् । घरमा खाद्यान्न किनमेल गर्ने पैसाको जोहो गर्न हरेक बर्ष नेपाली भारत जाने र दसै मनाउन फर्कने गरेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार १०:३२

लोकप्रिय