सशस्त्र प्रहरी बल नेपालले युनिट सरुवाको शुरूआत गरेको छ । पहिलो पटक नं. १५ गण काभ्रेको ‘क’ गुल्म र नं.७ गण सिरहाको ‘क’ गुल्मको गुल्म फर्मेसनमा परस्पर सरुवा गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरअन्तर्गत काभ्रे जिल्लामा तैनाथ रहेको नं. १५ गणको ‘क’ गुल्म आश्रित गुल्मको रूपमा सिन्धुली जिल्लामा तैनाथ थियो भने नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीअन्तर्गत सिरहा जिल्लाको नं. ७ गणको ‘क’ गुल्म मार्डरमा रही प्रस्तावित सीमा सुरक्षा गुल्मको रूपमा मातहत ३ वटा बिओपीसहित तैनाथ थियो ।
सशस्त्र प्रहरी बल नेपालको संगठनभित्र बाहिनी, गण, गुल्म र प्लाटुन लगायतका संरचना रहेका छन् । हाल काभ्रे र सिरहाका गण मातहत गुल्म तहको परस्पर सरुवा गरेता पनि भविष्यमा गण तहका इकाइहरूको समेत सरुवा गरिने योजना रहेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले बताए ।
इकाइगत अवधारणालाई प्रभावकारी बनाउन अर्धसैनिक फौज सशस्त्र प्रहरी बल नेपालका प्रत्येक इकाइहरूको आ–आफ्नै आदर्श वाक्य समेत तय गरिएको छ, जसले गर्दा इकाइमा कार्यरत कर्मचारीहरूको आफ्नो इकाइप्रति गौरवको भावना विकास हुने र सामूहिकताको भावना जागृत हुने विश्वास लिइएको प्रवक्ता खड्काले बताए ।
इकाइगतरूपमा सरुवा गर्दा सो इकाइमा कार्यरत कर्मचारीहरूमा एकता, भातृत्व तथा भागिनत्व प्रगाढ हुने, एकअर्काको बारेमा सम्पूर्ण जानकारी अध्यावधिक हुने, आदेशको शृंखला अझ प्रभावकारी रूपमा विकास हुने तथा इकाइप्रतिको अपनत्व अभिवृद्धि भई सकारात्मक सोच र सहयोगात्मक भावनाको विकास हुने तथा इकाइ सरुवा गर्दा फौजी अनुशासन र आचरणको समेत पालना हुने संगठनको विश्वास रहेको छ ।
यसरी इकाइगत सरुवा गर्दा व्यक्तिगत रूपमा काजमा बस्ने, अन्य इकाइमा सरुवा जान चाहने र कुनै व्यक्ति विभिन्न कारणले एकै स्थानमा लामो समयसम्म बस्ने प्रवृत्ति अन्त्य हुनेछ । त्यसैगरी सीमा इलाकामा लामो समयसम्म एउटै स्थानमा फौज कार्यरत रहेका कारण आउने गुनासाहरू पनि बन्द हुने अपेक्षा संगठनले गरेको वरिष्ठ उपरीक्षक खड्काले बताए ।
यसअघि सशस्त्र प्रहरी बल नेपालले व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राखी आफ्नो अनुकूल कार्यालयमा काज कार्यरत रहने प्रवृत्तिलाई निरुत्साहित गर्ने गरी काजसम्बन्धी नयाँ मापदण्ड तयार पारी लागू गरिसकेको छ । मापदण्डअनुसार वास्तविक समस्या भएका सशस्त्र प्रहरी कर्मचारीहरूले अधिकतम ६ महिना अवधिका लागि आफूलाई पायक पर्ने कार्यालयमा काजमा कार्यरत रहन निवेदन दिन सक्ने र उक्त समस्यालाई मध्यनजर गरी विभागले ६ महिना अवधिसम्म मात्र काज स्वीकृत गर्नेछ ।
काज स्वीकृत भएका कर्मचारीले ६ महिनाभन्दा बढी काज बस्नका लागि कबुलियतनामाको फारम भरी दस्तखत गर्नुपर्ने तथा कबुलियतनामा उल्लेख भएअनुसारको शर्तनामा स्वीकृत भएको ६ महिना काज सुविधा उपयोग गरिसकेपश्चात लागु हुनेछ । ६ महिना काज सुविधापश्चात कर्मचारी सम्बन्धित दरबन्दीमा अनिवार्य रूपमा हाजिर हुनुपर्ने छ । सशस्त्र प्रहरी बल नेपालको युनिट सरुवाको नीतिले समस्या दर्शाई काज बस्ने प्रवृत्तिलाई निरुत्साहित गर्न समेत टेवा पुर्याउने छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं