सूचनाको शक्ति - The Power Of Information

        

दसैं नजिकिँएसँगै थारु बस्तीमा सखियाको रौनक

फाइल तस्वीर

चाडपर्व नजिकिएसँगै थारु बस्तीमा सखिया नाचको रौनक छाएको छ । दसैं आउन थालेपछि कैलाली, कञ्चनपुरका थारुले आ–आफ्ना गाउँमा सखिया नाच नाच्न थालेका हुन् ।

यो नाचको पैँयाले साँझपख थारु बस्ती गुल्जार बनिरहेको छ । धेरै वर्षको अन्तरालपछि आफ्नो गाउँमा पुनः सखिया नाच हुन थालेपछि हर्षोल्लास बढेको कैलारी गाउँपालिका–३, खोनपुरका सुजित चौधरीले जानकारी दिए ।

‘२०–२५ वर्षपछि गाउँमा सखिया नाच भइरहेको छ,’ उनले भने, ‘नाचले यो पटक गाउँ गुल्जार बनेको छ ।’ सखिया नाच दसैं–तिहारको अवसरमा थारु समुदायका महिलाले सामूहिक रुपमा नाच्ने परम्परागत नृत्य हो । यो नाच मादल र मजिराको तालमा विभिन्न तरिकाले नाचिन्छ ।

सखिया नाच्ने सिजनमा खेतीपातीको काम पनि हुने गरेको छ । दिनभरी खेतमा काम गरेर थाकेका स्थानीयले साँझपख सखिया नाच हेरेर थकाइ मार्ने गरेका छन् । नाचको कारण गाउँमा रौनक थपिएको चौधरीले बताए ।

साथीसङ्गीहरु मिलेर सामूहिक रुपमा नाच्ने नृत्य भएकाले यो नाचलाई सखिया नाच भन्ने गरिएको बताइन्छ । थारु समुदायमा महिलाले महिला साथीलाई ‘सखी’ भन्ने गर्दछन् । सखी अर्थात् साथीहरु मिलेर नाच्ने नाच भएकाले यसलाई सखिया नाच भनिएको हो ।

अहिले सबैजसो थारु गाउँमा राति सखिया नाच नाच्ने गरेको संस्कृतिप्रेमी सोम डेमनडौराको भनाइ छ । उनका अनुसार सखिया नाचमा विशेषगरी पैँया लाग्ने र कान्हाको कथासँग सम्बन्धित गीत गाउने गरिन्छ । सखियाको रौनक, प्रेम, सद्भाव, माया र सौहार्दता अत्यन्त प्रिय र आनन्द अनुभूति गराउने खालको हुने डेमनडौराको बुझाइ छ ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार २१:३०