सूचनाको शक्ति - The Power Of Information

        

यात्रुवाहक सवारीमा आजदेखि रुट परमिट खुला

सरकारले नेपालीहरुको महान् पर्व बडा दसैँमा यात्रुलाई आवतजावतका लागि सहज होस् भन्ने उद्देश्यले आजदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा गत असोज २३ गते बसेको यातायात व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार आजदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको हो ।

रुट परमिट खुला आगामी कात्तिक १० गतेसम्म जारी रहने बताइएको छ । रुट परमिट खुला गरेसँगै अब सार्वजनिक सवारी यात्रु लिएर देशका विभिन्न भागमा निर्बाधरुपमा जान पाउने भएका छन् ।

सोही बैठकको निर्णयअनुसार आजदेखि खाद्यान्न लगायत अत्यावश्यक वस्तुहरु ढुवानी गर्ने बाहेकका ट्रेलर लगायत ठूला सवारी काठमाडौँ उपत्यका प्रवेशमा रोक लगाइएको छ ।

दसैँका लागि घर जाने यात्रुलाई सहज होस् भन्ने उद्देश्यले सरकारले गत असोज २२ गतेदेखि नै अग्रिम टिकट बुकिङ खुला गरिसकेको छ । प्रत्येक वर्ष काठमाडौँबाट दसैँ मनाउनका लागि २० लाखभन्दा बढी व्यक्ति आफ्नो जन्मस्थल जाने गरेका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार २१:०९

लोकप्रिय