सूचनाको शक्ति - The Power Of Information

        

जमुनाह नाकामा दसैँ मनाउन घर फर्किनेको लर्को

रोजगारीका लागि भारतको विभिन्न सहरमा पुगेका नेपालीहरू दसैँ नजकिएसँगै घर फर्किने क्रम सुरु भएको छ । नेपालगन्जस्थित जमुनाहनाकामा भारतका विभिन्न सहरमा रोजगारी गरेर घर फर्कने नेपालीहरूको प्रत्येक दिन बिहान लर्को लाग्ने गरेको हो ।

दैनिक दुई हजारदेखि दुई हजार पाँच सय जनासम्म भारतमा काम गर्ने नेपाली दाजुभाइ जमुनाहनाका हुँदै दसैँ मनाउन घर फर्किने गरेको इलाका प्रहरी कार्यालय जमुनाहले जनाएको छ ।

प्रहरीका अनुसार केही दिनयता भारतमा काम गरी घर फर्किने नेपालीहरूको सङ्ख्या ह्वात्तै बढेको छ । बिहान ७ः०० बजेदेखि ११ः०० बजेसम्म जुमनाहनाकामा घर फर्किने नेपालीको भीड हुने गरेको छ ।

जमुनाहमा भेटिएका बारेकोट गाउँपालिका जाजरकोटका भीमबहादुर गिरीले भारतको सिमलामा रोजगारी गरेर दसैँ मनाउन घर फर्किएको बताए । गत वर्ष दसैँ–तिहार मनाएर रोजगारीका लागि सिमला पुगेका उनले घरपरिवारलाई लत्ताकपडा र दसैँ खर्च लिएर घर फर्किएको बताए ।

धेरै रुपैयाँ कमाउन नसके पनि जसोतसो खर्चको जोहो गरेको गिरीको भनाइ थियो । दसैँ मनाउन घर फर्कने नेपालीको हरेक वर्ष सिमाननाका जमुनाहमा लर्को लाग्ने गर्दछ । सल्यानको शारदा नगरपालिकाको हिउल्चा गाउँका भरत विकले वर्षभरि परदेशमा काम गरेर दिन बिते पनि दसैँमा भने सधैँ घर फर्किने गरेको बताए ।

भारतकै सिमलामा मजदुरी काम गर्ने जाजरकोट र सल्यानका मात्रै २५ घरपरिवार दसैँ मनाउन बिहीबार घर फर्किएका छन् । पश्चिम नेपालको सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, प्यूठानलगायत जिल्लाबाट भारतमा रोजगारीका लागि पुग्ने गरेका छन् ।

दसैँको बेला भारतमा रोजगारीका लागि गएका नेपाली फर्किने क्रममा नाकामा दुःख दिने र लुटपाटका घटना हुन नदिन सुरक्षाकर्मीलाई सजग बनाइएको प्रहरीले जनाएको छ । प्रहरीका भारतबाट घर फर्किने नेपालीलाई लक्ष्य गरी जमुनाह नाकामा नेपाल प्रहरीले नागरिक सहायताकक्ष स्थापना गरेर काम गरिरहेको छ ।

आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारिश्रमिकमा काम गर्नुपर्ने, औषधिमुलोसमेत राम्रो नपाइने भएपछि लुम्बिनी र कर्णाली प्रदेशबाट रोजगारीका लागि भारत जानेहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार २०:५७

लोकप्रिय