सूचनाको शक्ति - The Power Of Information

        

नेपाली विद्यार्थीको शव पठाउन इजरायलले प्रक्रिया थाल्यो

इजरायलस्थित नेपाली दूतावासले हमासको आक्रमणमा मृत्यु भएका १० जना नेपालीको शव नेपाल पठाउन इजरायल सरकारले आवश्यक प्रक्रिया सुरु गरेको जानकारी दिएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै दूतावासले मृत्यु भएका दश नेपाली विद्यार्थीको शवसम्बन्धी कार्य इजरायल सरकारको नियम तथा प्रक्रियाबमोजिम इजरायलका सम्बन्धित निकायबाट भइरहेको जनाएको छ ।

त्यस्तै दूतावासले हमासको आक्रमणबाट घाइते भई उपचारका क्रममा रहेका चार जनामध्ये दुई दिनअघि डिस्चार्ज भएको एक जनालाई उद्धार उडानमार्फत नेपाल पठाइएको र उपचाररत अर्का एक जना अस्पतालबाट डिस्चार्जका क्रममा रहेको बताएको छ ।

अन्य दुयृ जनाको भने उपचार भइरहेको समेत विज्ञप्तिमा जनाइएको छ । त्यस्तै नेपाल फर्किन बाँकी रहेका नेपाली नागरिकलाई क्रमशः फर्कन सहजीकरण गर्ने प्रक्रिया सुरु गरिएको पनि दूतावासले जनाएको छ ।

विज्ञप्तिमा हराइरहेका एक नेपाली विद्यार्थीको खोजी कार्यलाई तीव्रता दिन इजरायलका उच्चस्तरीय निकायका पदाधिकारीसँग पुनः अनुरोध गरिएको जनाइएको छ । नेपाल सरकार र दूतावासको सहयोगमा २५४ जना नेपालीको शुक्रबार बिहान उद्धार गरिएको थियो ।

दूतावासले उद्धार कार्यमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संघसंस्थालाई धन्यवाद दिँदै इजरायलवासी सम्पूर्ण नेपालीलाई संयम रहँदै निरन्तर दूतावाससँगको समन्वय र सहकार्य गर्न तथा स्थानीय सुरक्षा निकायको निर्देशन पालन गर्न सूचित गरेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार १७:०४

लोकप्रिय