सूचनाको शक्ति - The Power Of Information

        

इजरायलबाट फर्केका नेपाली भन्छन्, ‘बाँचेर फर्कियौ, साथीहरु गुमाउँदा दुःख लागेको छ’

इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज विहान नेपाल ल्याइएको छ । उनीहरुलाई नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो । उनीहरुलाई लिनका लागि परराष्ट्रमन्त्री एनपी नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरु इजरायल गएका थिए ।

उद्धारपछि आज विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्कन चाहना राखेका पाँच सय तीन जनामध्ये २५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिए ।

‘इजरायलको तेल अभिवस्थित नेपाली राजदूतावासले सुरक्षित स्थानमा स्थानान्तरण हुन तथा नेपाल फर्कन चाहने नेपालीहरुलाई अनलाइनमार्फत आफ्नो विवरण प्रविष्ट गर्न अनुरोध गरे बमोजिम आजसम्म ५५७ जनाले आफ्नो विवरण उपलब्ध गराउनुभएको छ । जसमध्ये पाँच सय तीन जनाले नेपाल फर्कन अनुरोध गर्नुभएकोमा २५४ जना आज हामीसँगै स्वदेश फर्कनु भएको छ ।’

परराष्ट्रमन्त्री साउदले जोखिमपूर्ण स्थानबाट स्थानान्तरण गर्न आवेदन गरेका ५४ जनालाई सुरक्षित स्थानमा सारिएको पनि जानकारी दिए । यस घटनामा परी चार जना नेपाली नागरिक घाइते भएकोमा एक जना उपचारपछि आजै स्वदेश फर्किएको, एक जना अस्पतालबाट उपचारपछि डिस्चार्ज भएको र बाँकी दुई जना स्थानीय अस्पतालमा उपचाररत रहेको मन्त्री साउदले जानकारी दिए ।

‘आक्रमणमा परी सम्पर्कबिहीन भएका विपिन जोशीको खोजी निरन्तर जारी छ,’ उनले भने, ‘यस विषयमा थप जानकारी प्राप्त हुनासाथ जानकारी गराउने छौँ ।’ इजरायलमाथि हमास समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० जना नेपाली विद्यार्थीको निधन भएको र उनीहरुको शव नेपाल ल्याउनका लागि इजरायल सरकारसँग समन्वय भइरहेको पनि उनले जानकारी दिए ।

‘कानूनी प्रक्रिया पूरा गरी प्रत्येक शवको छुट्टाछुट्टै विवरण राख्नुपर्ने र हाल इजरायलमा शवको संख्या अत्यन्तै बढी भएकाले प्रक्रिया पूरा गरी शव हस्तान्तरणका लागि केही समय लाग्ने इजरायली पक्षले जनाएको छ । त्यसैले उहाँहरुको परिवार तथा आफन्तलाई केही समय धैर्यधारणा गर्न म अनुरोध गर्दछु,’ उनले भने ।

सिराहाकी शोभा पासवानलाई इजरायलबाट सकुशल नेपाल फर्किन्छु जस्तो लागेको थिएन । ती दिनसम्म बङ्कर भित्र बसेर ज्यान जोगाउँदा नेपाल फर्किन सफल भएकी शोभाले इजरायलको त्यो कहालीलाग्दो अवस्था चित्रण गर्नै सक्दिनन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट लर्निङ एण्ड अर्निङ कार्यक्रममार्फत इजरायल पुगेकी शोभा शुक्रबार नेपाल फर्किएकी छिन् ।

इजरायल र गाजाबीचको युद्धको अवस्था देख्दा उनलाई सकुशल नेपाल फर्किन्छु जस्ता लागेको थिएन । तर, ढिलै भए पनि नेपाल सरकारले देखाएको सक्रियताले आफू निकै खुसी रहेको उनको भनाई छ । ‘हामीले हाम्रा साथी गुमाउँदा जीवनभरको लागि पीडा भयो । तर पनि नेपाल आउन पाउँदा निकै खुसी लागेको छ । यसका लागि नेपाल सरकारलाई धेरै धेरै धन्यवाद । अन्तिममा नेपाल आउन पाउँदा निकै खुसी छु,’ उनले भनिन् ।

गत शनिवार गाजास्थित हमास समूहको तर्फबाट भएको आक्रमण भएको थियो । जसमा परेर १० जना नेपाली विद्यार्थीले ज्यान गुमाए । शोभाले तीमध्ये दुई जना हितैसी मित्र राजेश स्वर्णकार र गणेश नेपाली गुमाइन् । जसको पीडा उनले जीवनभर भुल्ने छैनन् ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार १०:१५

लोकप्रिय