सूचनाको शक्ति - The Power Of Information

        

परराष्ट्रमन्त्री साउदले भने, ‘इजरायलबाट शव ल्याउन सकिएन’

परराष्ट्रमन्त्री साउदले इजरायलले हस्तान्तरण नगर्दा इजरायलबाट नेपालीको शव ल्याउन नसकिएको बताएका छन् । २५४ जना नेपालीलाई लिएर त्रिभुवन विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

‘इजरायलमा दुवै पक्षका व्यक्तिहरूको मृत्यु भएको छ, विदेशीको पनि मृत्यु भएको छ,’ उनले भने, ‘त्यहाँ थुप्रैको मृत्यु भएको छ । शवहरूको विस्तृत विवरण तयार पारेर सबै पक्षको निर्क्योल गरेपछि हस्तान्तरण गर्ने जानकारी इजरायली पक्षले दिएको छ । हामीले उहाँहरूलाई छिटो हस्तान्तरण गर्न आग्रह गरेका छौँ ।’

गत शनिबार गाजा क्षेत्रको हमास समूहले आक्रमण गर्दा इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको छ । एक जना सम्पर्कविहीन अवस्थामा छन् । चार जना घाइते भएकोमा दुई जना उपचाररत रहेको, एक घाइते नेपाल फर्किएको र एक घाइते अस्पतालबाट डिस्चार्ज भएको उनले जानकारी दिए ।

उनले इजरायल सरकारले आफ्ना नागरिकसंगै नेपाल र अन्य विदेशी नागरिकलाई सुरक्षित राख्न आवश्यक प्रयास गरेको आफूले पाएको पनि उनले बताए । उनले भने ‘इजरायल सरकार त्यहाँ भएका नेपाली र अरु विदेशीलाई सुरक्षित राख्न सतर्क र समर्पित पाएको छुु ।’

अहिले २५४ जना आएको र आवश्यक परे तत्काल अन्य विमान पठाउने र अन्य नियमीत विमानबाट समेत फर्किन सक्ने वातावरण मिलाउन मन्त्रालयले गम्भीर भूमिका खेल्ने उनले बताए । मन्त्रिपरिषद्ले व्यवसायिक फ्लाइटबाट आउनेहरुको टिकट खर्च व्यहार्ने र चार्टर विमान पनि पठाउने निर्णय गरेको उनले बताए ।

परराष्ट्रमन्त्री साउदले भने, ‘अन्य जहाजहरु आवश्यकता अनुसार पठाइने छ, यसमा कुनै चिन्ताको विषय छैन । सरकार सगज छ, नेपाली दूतावासलाई निर्देशन गरिसकेको छ ।’ आफूलाई भेट्न इजरायलका विमानमन्त्री आफैं विमानस्थल आए पनि आफू नपुग्दै फर्किनु परेको पनि उनले सुनाए ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार ०८:१०

लोकप्रिय