सूचनाको शक्ति - The Power Of Information

        

सुरक्षा चुनौती बढिरहेका बेला तीन वटै सुरक्षा प्रमुख विदेशतिर

मुलुकमा विभिन्न प्रकारमा आन्दोलन चलिरहेका बेला तीन वटा सुरक्षा अङ्गका प्रमुख भने देशबाहिर रहेका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख देशबाहिर रहेका हुन् ।

अहिले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवर बेलायतमा छन् । त्यस्तै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल भने अमेरिका पुगेका छन् ।

बेलायतमा रहँदा प्रधानसेनापति शर्माले बेलायती समकक्षी जेनेरल सन्डेर्ससँग र बेलायती सेनाको ल्याण्ड वारफेयर विभागका निर्देशक, रोयल कलेज अफ डिफेन्स स्टडिज र रोयल मिलिटरी एकेडेमीका कमाण्डरसँग भेटवार्ता गर्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

साथै उनले त्यहाँ सञ्चालन भइरहेको क्याम्ब्रेन पेट्रोलमा सहभागी नेपाली सेनाको टोलीसँग भेट गर्ने कार्यक्रम रहेको छ । गत आइतबार बेलायत प्रस्थान गरेका प्रधानसेनापति शर्मा आउँदो शनिवार स्वदेश फर्किने कार्यक्रम छ ।

प्रधानसेनापति शर्माको अनुपस्थितिमा बलाधिकृत रथी सरोज प्रताप राणाले कार्यभार सम्हालिरहेका छन् । प्रधानसेनापति बेलायत जानु एक दिनअघि नेपाल प्रहरीका आइजिपी कुँवर बेलायत प्रस्थान गरेका थिए ।

गत शनिवार आइजिपी कुँवर बेलायत सरकारको निमन्त्रणामा सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका हुन् । नेपाल प्रहरी र बेलायत प्रहरीका उच्च अधिकारीहरूसँग सुरक्षा, अनुसन्धान र न्याय विषयमा भेटघाट तथा अनुभव आदान प्रदान गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विकसित अपराधका चुनौतीहरूबारे अनुभव आदान प्रदान गरिने छ ।

साथै त्यस्ता चुनौतीहरूको सामना गर्न उपयुक्त कानुन, सीप, स्रोतसाधनको माध्यमद्वारा प्रयास गर्ने, सामुदायिक प्रहरी सेवा, यौनिक एवम् लैङ्गिक हिंसाका साथै बालबालिकाविरुद्ध हुने अपराधको खतरालाई सम्बोधन गर्ने विषयमा छलफल हुनेछ ।

त्यसैगरी बेलायत प्रहरी, प्रहरी इकाइ आदिमा भेटघाट तथा अवलोकनको कार्यक्रम रहेको छ । आइजिपी कुँवरसँगै डिआइजी विष्णुकुमार केसी र दुई एसएसपी पनि बेलायत पुगेका छन् । आइजिपी कुँवरले एआइजी टेकप्रसाद राईलाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएका थिए ।

तर, निमित्त प्रहरी प्रमुख राई पनि गत मङ्गलवार अमेरिका प्रस्थान गरिसकेका छन् । सान डिएगो, क्यालिफोर्नियामा असोज २७ देखि ३० गतेसम्म सञ्चालन हुने चिफ अफ पुलिस कन्फरेन्समा सहभागी हुन एआइजी राईसहितको तीन सदस्यीय टोली अमेरिका गएका हुन् । टोलीमा राईसहित डीआइजीद्वय दुर्गा सिंह र केदार ढकाल छन् ।

राईको अनुपस्थितिमा निमित्त प्रहरी प्रमुखको जिम्मेवारी एआइजी दिपक थापाले सम्हाल्ने केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । त्यस्तै सशस्त्र प्रहरी महानिरीक्षक अर्याल पनि अक्टोबर १४ देखि १७ सम्म अमेरिकाको सान डिएगोमा सञ्चालन हुन गइरहेको प्रहरी प्रमुखको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन अमेरिका पुगेका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको साथ सशस्त्र प्रहरी नायव महानिरीक्षक शम्भु सुवेदी पनि रहेका छन् । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको अनुपस्थितिमा निमित्त महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सम्हाल्ने छन् ।

दुई साताअघि संसदीय समितिमा प्रहरी र सशस्त्र प्रहरीका प्रमुखले पहिचान पक्षधरको आन्दोलनका कारण अत्यधिक सुरक्षा चुनौती रहेको रिपोर्टिङ गरेका थिए । साथै उनीहरू मुलुकमा धार्मिक अतिवाद फैलिएको विश्लेषण गर्दे त्यसबाट सचेत हुनुपर्ने बताएका थिए । त्यस्तै चाडपर्व आएको चाडपर्वको सुरक्षालाई समेत ध्यान दिनुपर्ने अवस्थामा सुरक्षा अङ्गका प्रमुख र उच्च अधिकारीहरू विदेश पुगेका हुन् ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार १७:३१

लोकप्रिय