सूचनाको शक्ति - The Power Of Information

        

इजरायलबाट २५४ जना नेपाली बोकेर उड्यो नेपाल एयरलाइन्स

परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा २५४ जना नेपाली नागरिकहरु बोकेर नेपाल एयरलाइन्सको वाइडबडी विमान इजरायलबाट नेपालतर्फ उडेको छ । बिहीबार बिहान ४ बजे नेपालबाट त्यहाँ गएको विमान इजरायलस्थित तेल अभिभ विमानस्थलबाट उडेको हो ।

उक्त विमान आजै राति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । परराष्ट्रमन्त्री साउद नेपाली विद्यार्थी लिन इजरायल पुगेका थिए । मन्त्री साउदको सचिवालयले दिएको जानकारीअनुसार २५४ जना नेपाली नागरिकलाई लिएर नेपाल वायु सेवा निगमको विमान नेपालका लागि उडेको छ ।

आज राति १ः३० बजे जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । इजरायलमा चार हजार ५०० जना नेपाली कामदार (केयर गिभर) छन् । उनीहरू सुरक्षित छन् । २६५ जना नेपाली विद्यार्थीमध्ये हमासको आक्रमणबाट गत शनिबार १० जना विद्यार्थीको मृत्यु भएको थियो ।

प्यालेष्टाइनी उग्रवादी समूह हमास र इजरायली सेनाको लडाइ जारी रहेकाले अध्ययनका लागि इजरायल गएका विद्यार्थी स्वदेश फर्किन लागेका हुन् । सरकारले इजरायलमा समस्यामा परेका नेपालीहरूलाई जहाज चार्टड गरेर नेपाल ल्याउने निर्णय गरेको थियो । इजरायलबाट विद्यार्थीहरु आज राति काठमाडौं आइपुग्ने छन् ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार १७:१८

लोकप्रिय