सूचनाको शक्ति - The Power Of Information

        

उड्ने हेलिकोप्टर गुडेर भारततिर

हेलिकोप्टर उड्ने त आकाशमा हो तर ट्रक चढेर यही हप्ता मुम्बई पुग्दैछ ! खरिदका नाममा सेनाभित्र मौलाएको अनियमितताले यसरी हेलिकोप्टरलाई ट्रक र कन्टेनरमा पोको पार्ने दुःख आइलागेको हो ।

सेनाले दीपक भट्टसहितका बिचौलियामार्फत सन् २०१५ मा खरिद गरेको, तर प्रयोगमा खासै नआएका हेलिकोप्टर अन्ततः मर्मतका लागि मुम्बई लैजानुपरेको छ । खरिद गर्दैमा पुरानो मोडलको इञ्जिनलाई लागत मूल्यभन्दा अत्यधिक रकम तिराइएको थियो ।

त्यसबाट ठेकेदार, बिचौलिया र सेनाका केही हाकिम आर्थिक रूपमा त लाभान्वित भए । तर, हेलिकोप्टरचाहिँ वर्षौंदेखि एयरपोर्टको हवाई अड्डामा छोपेर राखिएको थियो । त्यसरी खरिद गरिएका दुई हेलिकोप्टरलाई नेपाली आकाशमा उड्नसक्ने बनाउन मर्मतका निम्ति पठाइएको हो ।

सम्पूर्ण पार्टपुर्जा खोली एउटालाई ट्रकमा हालेर र अर्कोलाई ४० फिट लम्बाई भएको कन्टेनरमा पोको पारी टायर, सिसा, जिउ सबै नयाँ बनाउन रक्सौल नाका हुँदै हिजो भारत पठाइएको छ । रसियाबाट ल्याइएका ती दुई हेलिकोप्टर भारतको रक्षा मन्त्रालय अन्तर्गत एक कम्पनीले बनाउने भएको छ ।

त्यसका लागि मुम्बईको जुहु विमानस्थलमा पठाइएको हो । तर, हेलिकोप्टरको इञ्जिनचाहिँ बनाउनका निम्ति रसिया नै पुग्ने भएको छ । जिटुजी, अर्थात् सरकार–सरकारका बीचमा सम्झौता भएको कारण मर्मतका नाममा रकमको हिनामिना त खासै हुँदैन ।

त्यसमाथि भारतले जिम्मा लिएका कारण ती हेलिकोप्टर अबको ६ देखि ९ महिनामा तयार हुन्छन् । त्यसपछि उडाएरै नेपाल ल्याइने भएको छ । हेलिकोप्टर मर्मतका लागि ४७ करोड रकम छुट्टयाइएको छ । ती हेलिकोप्टर खरिद गर्दा एउटाको २० अर्ब पर्छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार १७:०७

लोकप्रिय