एउटै दर्जाको अधिकृतले हस्ताक्षर गरेको प्रमाणपत्र लिनुपर्ने भएपछि सशस्त्र प्रहरीका हाकिमहरू रुष्ट भएका छन् । एपिएफ कमाण्ड तथा स्टाफ कलेजमा एसएसपीले नै एसएसपीलाई तालिम सकेको प्रमाणपत्र दिने चलन छ ।
हाल स्टाफ कलेजको कमाण्ड नरेन्द्र सेनले चलाइरहेका छन् भने शंकर खनाल, कृष्ण ढकाल, मनीष थापालगायत एसएसपीले उनले हस्ताक्षर गरेको प्रमाणपत्र लिएका छन् । सशस्त्रको हेडक्वार्टरमा डिआइजीहरू थुप्रिएर बसिरहँदा स्टाफ कलेजजस्तो महत्वपूर्ण ठाउँ एसएसपीको जिम्मा लगाइएको छ ।
डिआइजी किशोर प्रधान, गणेश ठाडा, कुलबहादुर नेम्वाङ, दुर्गा भट्टराई हेडक्वार्टरमा रनभुल्ल भएर बसेका छन् । उनीहरू ठाउँ नभएर होइन, ठाउँ नपाएर थन्किएका हुन् । एसएसपीले हस्ताक्षर गरेको प्रमाणपत्रले अन्तर्राष्ट्रिय स्तरमा तालिमको मान्यता घटाउने सशस्त्रका अधिकृतहरूको भनाइ छ ।
‘जर्नेलसम्मको हस्ताक्षर भएको भए पनि चित्त बुझाउँथे होलान् । बिचराहरू आफ्नै स्तरकोलाई कमाण्डर भनिरहेका छन्, तिनकै हातबाट प्रमाणपत्र थापिरहेका छन् । डिआइजी खाली नभए पनि एउटा कुरा हुन्थ्यो । हेडक्वार्टरमा डिआइजी फालाफाल छन्, सिक्नुपरेको छ एसएसपीबाट,’ स्रोतले भन्यो ।
सेनले कलेजमा अहिलेसम्म एउटा पनि कक्षा नलिएको उनीहरूको भनाइ छ । कमाण्ड, लिडरसिप, म्यानेज्मेण्ट सिकाउने ठाउँको जिम्मा एसएसपीलाई दिँदा धेरैको टाउको दुखाइको विषय बनेको छ । हाल स्टाफ कलेजमा एसपीहरूको तालिम चलिरहेको छ । तालिम दिन कमाण्डर सेनको स्तरले नभ्याउने भन्दै उनीहरूले समेत आलोचना गरिराखेका छन् ।
‘एसपीलाई तालिम दिन एसएसपीको स्तरले पुग्छ ? स्टाफ कलेज उच्चहरूले तालिम गर्ने ठाउँ हो । डिएसपी, एसपी, एसएसपीहरूले यहाँबाट तालिम लिन्छन् । जसले तालिम लिन्छ, उसैलाई कमाण्डमा राखिएको छ के भन्ने ? पँहुच भए पुग्ने रहेछ’, तालिमरत एक जना एसपीले गुनासो पोखे ।
एसएसपीको लाइनमा सबैभन्दा जुनियर हुन्, नरेन्द्र सेन । अरु सबै उनीभन्दा सिनियर छन् । ककनीका कृष्ण ढकाल, बर्दघाटका विष्णु भट्टराई, झापाका कमल तिमिल्सिना, बनबेहडाका श्रीकृष्ण अधिकारी, टिकापुरका विनोद श्रेष्ठ, प्रविन कँडेल, दिगविजय सुवेदी, मनिश थापा पालो कुरेर बसिरहँदा उनले पहुँचको आधारमा सिँधै कमाण्डको जिम्मेवारी पाएका हुन् ।
इन्स्पेक्टरको तालिममा पनि ७० प्रतिशतभन्दा कम नम्बर ल्याएका उनी एकाएक कमाण्डर बनेपछि अन्यले असन्तुष्टि जनाउनु स्वाभाविकै पनि हो । माओवादीका नेताहरूको चाकडी गरेर उनले सबैभन्दा ठूलो तालिम केन्द्र चलाउने जिम्मा पाएको स्रोत बताउँछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी बिना मगर, वर्षमान पुन, ओनसरी घर्ती, कृष्णबहादुर महरालगायतको अघिपछि गरेरै उनले बाजी मारेको सहपाठीहरुको भनाइ छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं