सूचनाको शक्ति - The Power Of Information

        

विश्व परिवेश

इजरायल र प्यालेस्टाइनबीच शान्तिवार्ताको खाँचो

गाजामा भइरहेको आक्रमणलाई दुनियाँले अनौठो मानेर हेरिरहेको छ र केही पश्चिमा सरकारहरु इजरायललाई ऐक्यबद्धता जनाइरहेका छन् । जनमत ध्रुवीकृत छ ।

७ अक्टुबरमा हमासले गरेको अनपेक्षित आक्रमणले दक्षिणी इजरायलमा ठूलो संख्यामा सर्वसाधारण तथा सैनिक मारिएका छन् । महिला र बालबालिकासहित सयौं बन्दी बनाइएका छन् । एकातर्फ यो आक्रमणको चौतर्फी निन्दा भइरहेको छ । अर्कोतर्फ, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको खस्कँदो राजनीतिले जीवनदान पाएको छ ।

पक्कै पनि यो आक्रमणले इजरायलको छवि र प्रतिरोध गर्न सक्ने सामर्थ्यमा ठूलो धक्का पुर्याएको छ । तर शोकबाट उठ्न नपाउँदै इजरायलले आफ्ना सैनिक परिचालन गरेको छ । रिजर्भमा राखिएका सयौं सेनालाई बोलाएको छ । र, हमासविरुद्ध युद्ध घोषणा गरेको छ । अमेरिका र पश्चिमा मुलुकले पनि आत्मरक्षाका लागि भन्दै ठूलो सैन्य अभियान चलाउन इजरायललाई ग्रिन सिग्नल दिए ।

घेराबन्दीमा परेको गाजापट्टीमा इजरायलले आक्रमण गरेको यो पहिलोपटक भने होइन । यसअघि पनि उसले धेरैपटक आक्रमण गरिसकेको छ । हरेक पटक त्रासद आक्रमणमा सयौं सर्वसाधारण, महिला र बालबालिका मारिएका छन् । र, हरेक पटक दुवै पक्षबीच कुनै उपलब्धि बिना युद्ध रोक्ने सहमति भएको छ । युद्धमा मारिएका सर्वसाधारण र मरेर बाँचेकाहरू केवल निम्छरो सावित भएका छन् ।

शतप्रतिशत क्षति

इजरायल प्यालेस्टाइन द्वन्द्वको पूर्ण सन्दर्भलाई नकोट्ट्याई पछिल्लो रक्तपातपूर्ण चक्रको विश्लेषण गर्न सकिन्न । यो शृंखला ७ अक्टुबरमा सुरु भएको थिएन र बन्दुकहरु शान्त नभएसम्म यो द्वन्द्व पनि अन्त्य हुनेवाला छैन । यसबीच केही हुनेछ भने त्यो अकल्पनीय म्याग्निट्युडको मानवीय क्षति मात्रै होइन । हजारौं प्यालेस्टाइनी सर्वसाधारण मारिनेछन् ।

घेराबन्दीमा परेको गाजामा युद्ध चलिरहेको छ, २२ लाख प्यालेस्टाइनी बस्ने यो चापाचापयुक्त ठाउँमा क्षतिबाहेक अरु केही हुनेवाला छैन । इजरायलको आत्मरक्षाको सोचलाई पनि यस सन्दर्भमा जोड्नुपर्ने हुन्छ । हमास अस्तित्वमा आउनुअघि नै दशकौंदेखि इजरायल र प्यालेस्टाइनीबीच युद्ध चलिरहेको थियो ।

इजरायलले प्यालेस्टाइनमा आफ्नो कब्जा अन्त्य गर्नुपर्ने र दुईदेशीय समाधान अख्तियार गर्नुपर्ने अन्तर्राष्ट्रिय आह्वानलाई वर्षौं नकार्यो । उसले अन्तर्राष्ट्रिय सहमति, कानुन र सम्झौताविपरीत प्यालेस्टाइनीहरुलाई दमन गरिरह्यो । इजरायलसँग नै शान्ति सम्झौता गरेको प्यालेस्टाइनी अथोरिटी (पीए) लाई कमजोर बनाउने काम मात्रै गर्यो ।

र, यसका बाबजुद इजरायलले पश्चिमा देशमा आफूलाई माफी दिने र आफ्नो पक्षमा लाग्नेहरु भेटिरह्यो, उनीहरुले जब संकट आउँछ, तब इजरायलको पक्ष लिन्छन् । पश्चिमा सरकारहरुले इजरायली न्यारेटिभलाई निर्विवाद तथ्यका रुपमा लिनु पनि उदेकलाग्दो छ । यति हुँदा पनि ती पश्चिमा सरकारहरुले प्यालेस्टाइनीका समस्या र त्यसको अन्त्यबारे उल्लेख गरेनन् ।

दशकौं पुरानो नीतिको उपज

गाजापट्टी झन्डै १८ वर्षदेखि इजरायलको घेराबन्दीमा छ । यहाँका मानवीय, समाजिक र आर्थिक सुचकांकहरु भयावह छन् । इजरायलको दण्ड र एक देशीय नीतिका कारण प्यालेस्टाइनी युवाहरु डिप्रेसन र अतिवादमा छन् । यसलाई हामीले दशकौं पुरानो इजरायली नीतिको उपजका रुपमा लिइरहेका छौं । द्वन्द्वमा सर्वसाधारण मुछिनु दुखद् हो ।

तर, इजरायल–प्यालेस्टाइन द्वन्द्वका कारण यो नियति बनेको छ । दुवैतर्फका अतिवादीहरुका कारण धेरै निर्दोष इजरायली र प्यालेस्टाइनीले ज्यान गुमाएका छन् । अतिवादीहरुकै कारण शान्तिको बाटो अवरुद्ध छ । हिंसाको यो पछिल्लो चक्रले दशकौं लामो द्वन्द्व अन्त्य हुन्छ भन्नु जति साधारण छ, उति नै डरलाग्दो पनि छ ।

प्यालेस्टाइनमाथिको कब्जा अन्त्य गर्न अस्वीकार गर्ने र प्यालेस्टाइनीलाई उनीहरुको भाग्य तथा अधिकारको फैसला गर्ने अनुमति नदिने इजरायलको नीतिले स्वतन्त्रताका लागि प्यालेस्टाइनीले गरेको संघर्ष रोक्न सक्दैन । त्यहाँ सधैं स्वतन्त्रता खोज्ने पुस्ता जन्मनेछ, त्यसैले यसको समाधान राजनीतिक हो, सैन्य होइन ।

मध्यपूर्व क्षेत्रमा राम्रो सम्बन्धसहितको देश बन्नका लागि इजरायलले प्यालेस्टाइनी जनतासँग शान्ति कायम राख्नैपर्छ, हमास वा अन्य समूहसँग होइन । दुबैतर्फका जनताले शान्तिसँग बाँच्न पाउनुपर्छ । आफ्नो छिमेकमा बमको कार्पेट नै बिछ्याएपनि इजरायलले प्यालेस्टाइनीहरुको नामोनिशान मेट्न सक्दैन ।

इजरायलको सेना यसको सही जवाफ होइन, प्यालेस्टाइनमाथिको उसको कब्जा र अमानवीय हर्कतले इजरायललाई अतिवादीहरुको नियन्त्रणमा जान सहयोग गरेको छ । त्यस्तै, हमास र अन्य सैन्य समूहहरुलाई प्यालेस्टाइनी न्यारेटिभ हाइज्याक गर्न सहयोग गरिरहेको छ ।

दोहोरो चरित्र

गाजामा अहिले युद्धले सयौं प्यालेस्टाइनीहरुको ज्यान लिइसकेको छ । र, युद्ध बढ्दै जाँदा दुबै पक्षका जनताबीच थप विभाजन हुनेछ । त्यसपछि के हुन्छ ? इजरायलले २२ लाख प्यालेस्टाइनीहरुलाई कब्जा गरिसकेपछि के गर्छ ? अझै कति जनाको ज्यान गइसकेपछि मात्रै विश्वले वास्तविक शान्तिबाट मात्रै विश्वास र अन्तर्राष्ट्रिय कानुन तथा सम्झौता स्थापित हुन सक्छ भनेर बुझ्नेछ र निर्णय लिनेछ ।

यो दोहोरो चरित्र अन्त्य हुनैपर्छ । अन्त्यमा, शनिबारको आक्रमण पक्कै पनि इजरायलीहरुका लागि स्तब्धकारी र पीडादायी थियो । तर, गाजामाथि आक्रमण गरेर पीडितको घाउमा मल्हम लाग्नेवाला छैन । बरु यसले त अर्को पक्षतर्फ थप पीडितहरु सिर्जना गर्नेछ । ती व्यक्तिहरु मारिनेछन्, जसलाई हमास र उसको नीतिसँग केही लिनुदिनु छैन ।

गाजामा भइरहेको आक्रमणलाई दुनियाँले अनौठो मानेर हेरिरहेको छ र केही पश्चिमा सरकारहरु इजरायलको साथमा रहेको बताइरहेका छन् । जनमत ध्रुवीकृत छ । इजरायलले यो युद्ध जित्नसक्ला । तर, उसले विश्वभरका जनताको सहानुभूति गुमाउनुपर्नेछ । (यो लेख गल्फ न्युज डटकमका लागि अम्मानमा बस्ने पत्रकार तथा राजनीतिक टिप्पणीकार ओसामा अल सरिफले तयार पारेका हुन् ।)

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार ११:४३

लोकप्रिय