२०८३ वैशाख ६ , आइतबार 19, April 2026, Sunday

प्रेम जालमा फसाएर रकम असुल्ने महिला फन्दामा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० असोज २५ गते बिहीबार

सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप लगायतमा जोडिएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१९ की २९ वर्षीया सनिषा मल्ल छिन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीमा अनुसार मल्लले विभिन्न व्यक्तिहरूबाट हालसम्म १७ लाख १५ हजार रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।

‘डाक्टर राबिया हिकोलाईले पठाएको गिफ्ट भारतको इन्दिरा गान्धी एयरपोर्टमा आइपुगेको छ, तपाईंले पार्सल पाउनको लागि भन्सार शुल्क, डेलिभरी चार्जजस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भनी पीडितलाई विश्वास दिलाएर रकम ठगी गरेको बुझिएको छ,’ रेग्मीले भने ।

मल्लले सुरूमा फेसबुक, ह्वाट्सएप लगायतबाट आफू ‘इटालीको नागरिक हुँ’ भन्दै नेपालीहरूलाई माया–प्रेमको परिबन्धमा पार्थिन् । आइफोन, लेडिज ब्याग, सुन तथा गरगहरासहित पाँच हजार डलरसहितको गिफ्ट पठाइदिने भन्थिन् । मल्ललाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको रेग्मीले बताए ।

प्रकाशित मिति : २०८० असोज २५ गते बिहीबार