सूचनाको शक्ति - The Power Of Information

        

इजरायलबाट शव ल्‍याउन समय लाग्छ : परराष्ट्र मन्त्रालय

इजरायलमा मारिएका १० जना नेपालीको शव ल्याउन केही ढिलाई हुने भएको छ । परराष्ट्र मन्त्रालयले बुधवार अपरान्ह पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले इजरायल सरकारले शव हस्तान्तरण गरेपछि मात्रै सो शव नेपाल ल्याउन सकिने बताए । उनले उनीहरुको शव छिटो ल्याउन सरकारले सहकार्य गरिरहेको र अहिले ती शवहरु इजरायल सरकारको संरक्षणमा सुरक्षित रहेको स्पष्ट पारे ।

उनले भने, ‘अज्ञात अवस्थामा रहनु भएका विपिन जोशीको हकमा इजरायल सरकारको समन्वयमा निरन्तर रुपमा उच्च प्राथमिकताका साथ खोजी गर्ने कार्य जारी छ । सबै मृतकको शव इजरायली सरकारको संरक्षणमा सुरक्षित रुपमा राखिएको छ ।

मृतकहरुको शव यथाशीघ्र छिटो नेपाल ल्याउनेगरी हामीले समन्वय र सहकार्य गरिरहेका छौं । इजरायल सरकारबाट शव हस्तान्तरणको प्रक्रिया सकिनासाथ उच्च प्राथमिकताका साथ शवहरु नेपाल ल्याई सम्बन्धित परिवारलाई हस्तान्तरण गर्ने कार्यमा हामी क्रियाशील छौं ।’

उनका अनुसार नेपाल फर्कन चाहनेहरुलाई ल्याउन बुधवार (आज) राति नेपाल एयरलाईन्सको वाइडबडी विमान त्यसतर्फ पठाइनेछ । इजरायलमा नेपालको नियमित उडान पनि भएकाले आउन इच्छुक नेपालीहरुका लागि त्यहाँस्थित नेपाली दूतावासले सहजीकरण गर्ने पनि प्रवक्ता लम्सालले बताइन् ।

‘२८८ जना भन्दा बढीले नेपाल फर्कन चाहनुभएको छ । नेपाल फर्कन चाहनु हुनेहरुका लागि नेपाल एयरलाईन्सको २५० सिट क्षमता भएको बाईडबडी विमान आज रातिनै इजरायल प्रस्थान गर्दैछ । इजरायलबाट नियमित वायुसेवा पनि चलिरहेकाले फर्कन इच्छुक नेपालीहरुलाई नेपाली दुतावासले सहजीकरण गर्ने व्यहोरा पनि म यहाँहरुलाई अवगत गराउन चाहन्छु ।’

प्रवक्ता लम्सालले घाइते अवस्थामा रहेका ४ जनामध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएको पनि जानकारी दिइन् । अन्य २ जनाको भने उपचार जारी रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

लम्सालले भनिन्, ‘घाइते ४ जना मध्ये २ जना भर्खर अस्पतालबाट डिस्चार्ज हुनु भएको भन्ने प्रारम्भिक जानकारी छ हामीलाई । २ जनाको उपचार भइरहेको छ । बेपत्ता एक जनाको खोजिका लागि सबै संयन्त्रलाई परिचालन गरिएको छ । खोजी कार्य जारी छ ।’

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार १८:५२

लोकप्रिय