सूचनाको शक्ति - The Power Of Information

        

सामाजिक सञ्जाललाई समाजको हितमा प्रयोग गर्न सुझव

सामाजिक सञ्जालका माध्यामबाट समाजलाई सद्भाव र सही दिशानिर्देस गर्न प्रयोगमा ल्याउनु पर्ने नेपालगञ्जमा आयोजित एक कार्यक्रमका सहभागिले औल्याएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले आयोजना गरेको स्थानीय प्रशासन, अधिकारकर्मी, धर्मगुरु, सञ्चारकर्मीसहितको सर्वपक्षिय छलफल कार्यक्रमका सहभागिले सो सुझाव दिएका हुन ।

गत असोज १६ गते मंगलबार नेपालगञ्जमा सामाजिक सञ्जालमा लेखिएको कुराबाटै सामाजिक सद्भाव भड्किने गरी भएको घटनाबाट पाठ सिक्दै आगामी दिनमा यस्तो घटना हुन नदिन सबै क्षेत्रले आ–आफ्नो जिम्मेवारीलाई आत्मसाथ गरे मात्र पनि समाजमा सामजिक र धार्मिक सद्भाव कायम हुने अन्तर धार्मिक समाजिक सद्भाव समिति बाँकेका संयोजक सहेत रहनु भएका बागेश्वरी मन्दीरका मुख्य पुजारी चन्द्रनाथ योगीले सुझाव दिए ।

उनले अवको समय आरोप प्रत्यारोप गरेर समय खर्चिनु भन्दा एकले अर्कोलाई सम्मान गरी मिलेर अघि बढ्नुको बिकल्प नभएको औल्याउदै समाजलाई सही बाटोमा लैजानका लागि सबैको उत्तिकै दायित्व भएकोले मानवताको लागि मिलेर अघि बढ्न अपिल समेत गरे ।

मुस्लिम धर्मगुरु तथा अन्तर धार्र्मिक सामाजिक सद्भाव समिति बाँकेका सह संयोजक अब्दुल जब्बार मञ्जरीले समाजमा भाईचारा र सह अस्तित्वको साथ एकले अर्कालाई सम्मान गर्न आवश्यक रहेको औल्याए ।

उनले कुनै पनि धर्मले विभाजन र विद्वैषको सन्देश नदिने कुरामा जोड दिदै अवफाह र हल्लाको पछाडि लागेर समाजमा विखण्डन ल्याउने काम कसैले पनि गर्न नहुने र त्यस्तो काम गर्ने जो कोही भएपनि त्यस्ता व्यक्ति मानवता विरोधी र अधर्मी भएको बताए ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले नेपालगञ्जमा भड्किएको सामाजिक सद्भाव सबैको प्रयासले समयमै लयमा फर्किएको बताए । नेपालगञ्जको अवस्था सामान्य बन्दै गएकाले गत मंगलबारदेखि लगाईएको कर्फु र निषेधाज्ञा पूर्णरुपमा हटाईएको बताउदै यसको बतावरण निर्माण गर्न सहयोग पुराउने सबैलाई धन्यबाद समेत दिए ।

एकसाता अघिदेखि नेपालगञ्जमा स्थानीय प्रशासनले लगाउदै आएको कर्फ्यू र निषेधाज्ञा हटाएको छ । असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा कर्फ्यू लगाइएको थियो । त्यसपछि रातीमा कर्फ्यू र दिनमा निषेधाज्ञा लगाउने गरिएको थियो । नेपालगञ्जको जनजीवन सामान्य बन्दै गएपछि प्रशासनले कर्फ्यू र निषेधाज्ञाको समय घटाउदै लगेको थियो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका प्रमुख द्वारिका अधिकारी, ईन्सेका भोला महत, मुस्लिम धर्मगुरु मौलाना जब्बार मञ्जरी, प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोेष सिंह राठौरलगायतले नेपालगञ्जको अवस्था सामान्य बनाउनको लागि भएका प्रयासको बारेमा आ–आफ्नो भनाई राखेका थिए ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार १८:०६

लोकप्रिय