सूचनाको शक्ति - The Power Of Information

        

सिंहदबारभित्रै मेयरले घाँटी न्याँकेपछि…

देशको प्रमुख प्रशासनिक केन्द्र हो, सिंहदरबार । यही सिंहदरबारमा देशभरका जनप्रतिनिधि आ–आफू अनुकुलका कर्मचारीको माग गर्दै आउने गर्छन् । यस्तै रौतहटको कटहरिया नगरपालिकाका प्रमुख अजय प्रकाश पनि प्रमुख प्रशासकीय अधिकृतको विषय लिएर सिंहदरबार पुगे ।

सिंहदबारभित्र रहेको नेपाली कांग्रेस संसदीय दलको चमेना गृहमा कटहरिया नगर प्रमुख प्रकाश र कटहरिया नगरपालिकाका–५ का स्थानीय दीपक कुमार दुबेबीच प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर हातहालाको अवस्था सृजना भयो । नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कसलाई लैजाने भन्ने विषयमा विवाद हुँदा उनीहरुबीच हातहालको अवस्था सृजना भएको हो ।

सामान्य प्रशासन मन्त्रालय कर्मचारी महाशाखाको सहसचिव सुमन दाहालसँगको छलफलमा नगर प्रमुख प्रकाशलले वरिष्ठ कर्मचारी छाडेर पाँचौं तहको कमर्चारीलाई निमित्त रुपमा निर्णय गराउन चाहेको र अन्य कार्यपालिका सदस्यले मेयरको प्रस्तावलाई अस्वीकार गरी नगरपलिकाको वरिष्ठ कर्मचारीलाई नै निमित्तको जिम्मेवारी दिनुपर्ने भन्ने विषयले विवादले हुँदा उनीहरुबीच हातहालाको अवस्था आएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाहिर दुवै पक्षबीच भनाभन सुरु भएको थियो । कांग्रेसबाट निर्वाचित मेयर अजय प्रकाशले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट नगरपालिकामा कार्यरत पाँचौं तहका कबिर देवानलाई निमित्तको रुपमा लैजान चाहेका थिए । तर, दुबेले सोही पालिकामा अरु नै वरिष्ठ रहेको हुँदा देवानलाई निमित्त दिनुहुन्न भन्ने विषयमा अडान लिए । दुवैबीचको अडानले विवाद सुरु भएको हो ।

विवाद चर्किंदै जाँदा हात हालाहालको अवस्थामा मेयरले ज्यान मार्ने गरी दीपक कुमार दुबेको करिब ३० सेकेन्ड जाती घाँटी न्याँक्दा त्यहाँ रहेका व्यक्तिले उनीहरुलाई छुट्याएका थिए । यो घटना यतिकैमा रोकिएन । नेपाली कांग्रेस संसदीय दलको चमेना गृहमा फेरि दुवै पक्षबीच पुनः भनाभन र हात हालाहाल भएपछि सिंहदरबार प्रहरी सुरक्षा गणको प्रहरी निरीक्षक टोलीले दुवै पक्षलाई नियन्त्रण लिई छलफलका लागि लागेका थिए ।

दीपककुमार दुबेले भने, ‘सिंहदरबारभित्र नै असुरक्षित छ ? प्रमुखज्यूले मेरो ज्यान मार्ने प्रयास सिंहदरबारभित्र नै गर्नु भयो । सिंहदरबार कति सुरक्षित छ ? उहाँसँग रहेका नगरपालिकाका कर्मचारी सुरेन्द यादव र कबिर देवानले मेरो हात समाते र मेयर अजय प्रकासले मेरो घाँटी न्याँके । धन्न त्यहाँ अरु पनि थिए र मलाई उद्धार गरे । नत्र त्यहाँ जे पनि हुन्थ्यो । सिंहदरबार कति सुरक्षित छ?’

यता नगरप्रमुख अजय प्रकाशले दीपक कुमार दुबे नगरपालिकाको व्यक्ति नभएको दाबी गर्छन् । ‘कटहरिया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कसलाई लैजाने भन्ने विषयमा उनलाई कुनै मतलब बिषय थिएन । तर, उनी जबरजस्ती आफैं विवाद गर्न आए,’ उनले भने, ‘हो, हामीबीच विवाद चर्किंदै जाँदा हात हालाहाल भएको । तर, यसको सुरु दुबेले गरे । उनले आफुसँग भएको हेलमेटले मलाई आक्रमणको प्रयास गरेपछि मेलै प्रतिवाद गरेको हुँ ।’

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलवार १५:३९

लोकप्रिय