सूचनाको शक्ति - The Power Of Information

        

बाँकेका स्थानीय तहमा २२ करोड बढी विद्युत महसुल बक्यौता

बाँकेका आठ वटा स्थानीय तहले २२ करोडभन्दा बढीको सडक बत्तीको महसुल बुझाउन बाँकी रहेको देखिएको छ । सडक बत्ती प्रयोग गरेर महसुल नबुझाएपछि नेपाल विद्युत प्राधिकरणले जिल्लाका आठ वटै स्थानीय तहलाई सडक बत्तीको महसुल बुझाउनुका साथै केही ठाउँमा मिटर जडान नगरेरै सडक बत्ती प्रयोग गरिएको पाइएको जनाउँदै ती स्थानमा तत्काल मिटर जडान गर्न सार्वजनिक सूचनानै जारी गरेको छ ।

विद्युत प्राधिकरणले आइतबार एक सूचना जारी गरेर बाँकेका आठवटै स्थानीय तहलाई ४५ दिनभित्र सडक बत्ती बापतको २२ करोड ८५ लाख ३१ हजार ८४ रुपैयाँ विद्युत महसुल बुझाउन आग्रह गर्दै त्यसो नगरिए विद्युत महसुल सङ्कलन विनियमावली, २०७८ को विनियम १० बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

नेपालगन्ज वितरण केन्द्र र कोहलपुर वितरण केन्द्रले दिएको जानकारी अनुसार बाँकेका केही स्थानीय तहले लामो समयदेखि सडक बत्तीको महसुल नबुझाएकाले केन्द्रबाट नै सार्वजनिक सूचनानै जारी गर्नु परेको हो । प्राधिकरणका अनुसार सडक बत्ती प्रयोग गरेबापत विद्युत महसुल सबैभन्दा बढी बाँकी हुनेमा नेपालगन्ज उपमहानगरपालिका रहेको छ । उपमहानगरले १९ करोड ४५ लाख आठ हजार १९ रुपैयाँ विद्युत महसुल तिर्न बाँकी रहेको छ ।

सबैभन्दा कम खजुरा गाउँपालिकाले पाँच हजार ७७८ रुपैयाँ महसुल तिर्न बाँकी रहेको छ । सोही प्रकारले डुडुवा गाउँपालिकाले एक करोड ९४ लाख ५८ हजार १९, जानकी गाउँपालिकाले १४ लाख ४९ हजार ३६८, कोहलपुर नगरपालिकाले पाँच लाख ९८ हजार ६४४, नरैनापुर गाउँपालिकाले एक लाख २३ हजार ७५० र राप्तीसोनारी गाउँपालिकाले १५ हजार ७०७ रुपैयाँ सडक बत्तीको महसुल तिर्न बाँकी रहेको जनाइएको छ ।

प्राधिकरणले अनुमति नलिई बिना मिटर आफूखुसी जथाभाबी सडक बत्ती जडान गर्ने कार्य कानुन सम्मत नरहेकोले सो कार्य नगर्न पनि स्थानीयतहरुलाई आग्रह गरेको छ । साथै बिना मिटर जडान गरिएका सडक बत्तीहरू सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी ४५ दिनभित्र नियमानुसार मिटर जडान गर्नुपर्ने जनाउँदै त्यसो नगरिए पनि कारबाही गर्ने सूचनामा जनाइएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार देशभरि ३३२ स्थानीय तहले सडक बत्ती उपयोग गरे बापत छ अर्बभन्दा बढी महसुल तिर्न बाँकी रहेकोले असुली प्रक्रिया सुरु गरिएको हो ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलवार ०७:१५

लोकप्रिय