सूचनाको शक्ति - The Power Of Information

        

सुत्केरी पशु स्याहारका लागि खजुराका किसानलाई प्रोत्साहन भत्ता

बाँकेको खजुरा गाउँपालिकामा गाई र भैँसी दुहुनो भएपछि किसानलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन थालिएपछि पशुपालनतर्फ किसानको रुची बढ्न थालेको छ । खजुरा गाउँपालिकाले गत आर्थिक बर्ष २०७९–०८० देखि सुत्केरी पशु स्याहार तथा प्रोत्साहन भत्ता कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिकले गत आवमा एक हजार ११५ किसानहरु गाईभैंसी सुत्केरी भएपछि प्रोत्साहन रकमका लागि गाउँपालिकाको सम्पर्कमा आएको जानकारी दिए । किसानले प्रतिपशु सुत्केरी भएपछि एक हजार ५०० रुपैयाँ प्रोत्साहनस्वरुप प्राप्त गर्ने गरेका छन् । पशु सुत्केरी भएपछि सप्रमाण वडा कार्यालयको सिफारिसका आधारमा पशु शाखाले किसानलाई रकम उपलब्ध गराउने गरेको छ ।

तर चालु आवको साउन र भदौ महिनामा गाई र भैँसी सुत्केरी भएको प्रमाणसहित ४०० किसान प्रोत्साहन रकमका लागि पालिकाको सम्पर्कमा आइसकेका छन् । अध्यक्ष विकले भने, ‘गतवर्ष पहिलो पटक कार्यक्रम सुरु भएका कारण पनि जानकारीको अभावमा किसानहरु छुटेका हुन सक्छन्, तर यसबर्ष अहिलेसम्मको तथ्याङ्क हेर्ने हो भने किसानको सङ्ख्या अधिक भएको छ ।’

गतवर्ष पालिकाले प्रोत्साहनबापत रकम दिन थालेपछि किसानमा उत्साह थपिएको र समग्रमा पशुपालन गर्नेहरु बढ्दै गएको पालिकाले जनाएको छ । खजुरा गाउँपालिका पशु शाखा प्रमुख तारा थापाले चालु आवमा यो कार्यक्रमलाई निरन्तरता दिंदै २० लाख बजेट विनियोजन गरिएको जानकारी दिइन् ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलवार ०७:०२

लोकप्रिय