सूचनाको शक्ति - The Power Of Information

        

कृषि विज्ञानमा भविष्य खोज्दै इजरायल पुगेका नारायण उतै अस्ताए

इजरायल आक्रमणमा मृत्यु भएका नारायणप्रसाद न्यौपाने ।

पढ्दै कमाउँदै कार्यक्रममा गत भदौ २५ गते इजरायल गएका कैलाली घोडाघोडी नगरपालिका ४ जनकपुरका नारायणप्रसाद न्यौपानेको परिवारमा यो समाचार बनाउँदासम्म इजरायलको घटनाबारे पत्तो छैन । इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाउने १० जनाको सूचीमा नारायणको नाम समेत छ ।

सूची सार्वजनिक भएसँगै नारायणको परिवारलाई सम्पर्क गर्दा उहाँहरू इजरायलमा भएको घटनाप्रति बेखबर देखिन्थे । नारायणको परिवारको बारेमा जानकारी छिमेकी यशोदा बमसँग बुझ्ने प्रयास गरियो । बमका अनुसार कालिकोटको कोटबाडाबाट बसाइसराइ गरी आएका न्यौपाने परिवारमा तीन छोरा एक छोरी छन् ।

नारायण ६ वर्षको हुँदा उनको आमाको मृत्यु भएको थियो । दुई छोरा र एक छोरी भएका हरिनन्द न्यौपानेले दोस्रो विवाह गरेर सीता न्यौपानेलाई भित्र्याए । सीताबाट एक छोरा छन् । सौतेनी आमा भए पनि छोराहरूप्रतिको जिम्मेवारी सबै पूरा गर्दै आएको छिमेकी बमले बताइन् ।

छोरा नारायणको बारेमा सितासँग बुझ्दा उनले वाईफाईमा पैसा सकिएपछि छोरासँग कुरा नभएको चार दिन भएको बताए । चार दिनअगाडि छोरासँग कुरा हुँदा राम्रै कुरा भएको र खर्चपानी नभए दुई दिनपछि पठाउने कुरा भएको थियो ।

आमा सीता न्यौपाने भन्छिन्, ‘साँझ ६ बजेपछि कुरा हुन्थ्यो, चार दिनअगाडि कुरा भएको थियो । दाइले पैसा नपठाएपछि तलब आउँछ दुई दिनपछि म पटाइदिन्छु भनेको थियो ।’ नारायण परिवारका तीन छोरामध्ये माइला छोरा हुन् । सानैदेखि पढाइमा जेहेन्दार नारायणले एसएलसी पास गरेसँगै कृषि विज्ञान विषय लिएर पढ्ने इच्छा जाहेर गरे ।

नजिक कलेज नभए पनि दुखसुख गरेर छोरालाई रोजेको विषय पढाउन महेन्द्रनगर पठाए । महेन्द्रनगरबाट विज्ञान विषयमा राम्रै नम्बर लिएर कक्षा १२ पास भएका नारायणले स्नातक तह टीकापुर स्थित सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा स्नातक अध्ययन गर्न थालेको तीन वर्ष भयो । नारायणले क्याम्पसले विदेश पठाउने भएको खबर परिवारलाई सुनाएका थिए ।

आमा सीताले अरू छोराभन्दा पढाइमा पनि जेहेन्दार, हक्की स्वभावको केही गर्ने खालको भएपछि छोराले भनेको कुरालाई कहिल्यै नाइँनास्ति नगरेको बताइन् । सीताले भनिन्, ‘जेठोको पढाइमा खासै ध्यान थिएन, १० कक्षासम्म पढ्यो, विवाह गरेर अहिले बुढाबुढी दुवै इन्डिया छन् । कान्छो छोरो भर्खर ६ कक्षामा पढ्छ ।’

गाउँमा खेतीपातीबाट नै जीवन निर्वाह गर्ने न्यौपाने परिवारमा भाइकै पढाइ खर्च जुटाउन नारायणका दाजु भारतमा मजदुरी गर्दैछन् । नारायणका बुवा हरिकृष्ण न्यौपाने सोझो निरक्षर हुनुहुन्छ । उनलाई छोरोले के विषय कुन क्याम्पसमा पढ्दै छ भन्न पनि आउँदैन । ‘कृषि विषय हो कि, भेटनरी पढ्न गएको हो,’ हरिकृष्णले भने ।

२५ वर्षीय नारायणले इजरायल जानुभन्दा पहिले ६ महिना दार्चुलामा तालिम (इन्टर्न) गरेर आएका थिए । इजरायल जाँदा दुई लाख जति खर्च भएको बताउने नारायणको परिवारलाई यो समाचार तयार पार्दासम्म मृत्युको खबर दिइएको छैन । सीताले छोराले भनेको कुरा सम्झँदै भनिन्, ‘क्याम्पसले पठाउने हो , जाने म जस्तै अरु पनि धेरै छन्, यतैका छन् सबै एक बर्ष बसेर सिक्दै कमाउँदै गर्ने हो भनेको थियो ।’

इजरायलमा भएको आक्रमणको घटना बताएपछि थाहा पाएकी सीताले छिमेकीको घरमा नेट भएको र गएर छोरासँग कुरा गर्ने बताइन् । इजरायलको आक्रमणमा ज्यान गुमाउने नारायण जस्तै कैलालीको बर्दगोरिया गाउँपालिका ३ का आशिष चौधरीको नाम सार्वजनिक भएको छ । सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका ४९ जना विद्यार्थीमध्ये १७ जना इजरायलको सेवति नेगेभमा कृषि फार्ममा थिए । सोही क्षेत्रमा हमासको आक्रमणपछि १२ नेपाली विद्यार्थी सम्पर्कविहीनमध्ये १० जनाको मृत्यु भएको खबर सार्वजनिक भएको हो ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार १५:३६

लोकप्रिय