सूचनाको शक्ति - The Power Of Information

        

इजरायलमा रहेका छोराको बाटो हेर्दै परिवार

इजरायलमा रहेका छोरासँग सम्पर्क टुटेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशीको परिवार चिन्तामा डुबेको छ । भीमदत्त नगरपालिका–३ नागार्जुन टोल निवासी उनका परिवार छोरासँग सम्पर्क नहुन नसकेपछि चिन्तामा डुबेको हो ।

शनिबारपछि छोरासँग सम्पर्क नभएकाले आमा पदमा चिन्तित छिन् । ‘छोरासँग सम्पर्क नभएको दुई दिन भइसक्यो, ऊ कस्तो अवस्थामा छ ? केही थाहा छैन,’ पदमाले भनिन्, ‘चाँडोभन्दा चाँडो छोरालाई खोजेर घर ल्याउनुपर्यो ।’

शिक्षण पेसामा संलग्न उनका आमाबुबा बैतडीको रिमबाट केही वर्षअगाडि भीमदत्त नगरपालिका–३ मा बसाइँ सरेका थिए । आमा पदमा बेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित उदयदेव माध्यमिक विद्यालयमा पढाउँछिन् ।

बुबा शिक्षणको क्रममा बझाङमा छन् । आमा र छोरी मात्रै भीमदत्त नगरपालिका–३ मा बसोबास गर्छन् । छोरा सम्पर्कमा नआएपछि पदमा सम्हालिन सकेकी छैनन् ।

‘शनिबार भिडिओकल भएको थियो, खाना खाँदैछु, आक्रमण हुनसक्ने भएकाले बङ्करमा लुक्न सूचना जारी भइरहेको छ भनेर भाइले भन्दै थियो,’ विपिनका दाइ किशोरले भने,‘त्यसपछि कुरा भएको छैन, उतायता फोन गरेका ग¥यैछौँ, केही पत्तो लागेको छैन ।’

विपिन गत भदौ अन्तिम साता ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत् इजरायल गएका थिए । शनिबारदेखि बेपत्ता रहेका उनको अवस्था अझै अज्ञात छ । परिवारले चाँडो खोजी उद्धार गरेर घर फिर्ता ल्याउन सरकारलाई आग्रह गरेको छ ।

इजरायलविरुद्ध प्यालेस्टाइनी विद्रोही समूह हमासले गरेको आतंकवादी आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको छ । सुदूरपश्चिम विश्वविद्यालयको टीकापुरस्थित कृषि क्याम्पसबाट दुई चरणमा गरेर ४९ विद्यार्थी इजरायल गएका थिए ।

शनिबार बिहानदेखि इजरायलमा आक्रमण भइरहेको छ । इजरायलमा अध्ययनका लागि दुई सय ६५ नेपाली विद्यार्थी रहेकामा ४९ जना टीकापुर कृषि क्याम्पसका हुन् ।

सुदूरपश्चिम विश्वविद्यालयका ४९ विद्यार्थीमध्ये १७ जना गाजा क्षेत्रबाट नजिक पर्ने दक्षिणी इजरायलको किबुज अलुमिममा छन् । यस क्षेत्रमा हमास समूहले आतंकवादी आक्रमण जारी राखेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार १५:२८

लोकप्रिय