सूचनाको शक्ति - The Power Of Information

        

सुन तस्करी प्रकरणमा महरालाई उन्मुक्ति

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर गरेको सुन तस्करी प्रकरणमा पूर्व सभामुख महरालाई उन्मुक्ति दिएको छ ।

सरकारी वकिल कार्यालयमा आइतबार सो घटनाको अनुसन्धान प्रतिवेदन बुझाएको सीआईबीले पूर्व सभामुख महराविरुद्ध मुद्दा चलाउनु नपर्ने निष्कर्ष निकालेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोका एआईजी किरण बज्राचार्यका अनुसार सीआईबीले पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा चलाउनु नपर्ने निष्कर्ष निकाल्दै महराका छोरा राहुल महरा, लोकेन्द्रकुमार पौडेल र तिब्बत मूलका बेल्जियन नागरिक दावा छिरिङसहित ४ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गर्न सरकारी वकिललाई राय दिएको छ ।

भेप प्रकरणमा प्रतिवादी कायम गर्न सिफारिस गरिएका एक जना फरार छन् । चिनियाँ सुन तस्कर दाओजिन वाङसहित ६ जनालाई पछि खुलेको अवस्थामा प्रतिवादी बनाउन प्रहरीले राय दिएको छ ।

प्रतिवेदनमा ८ करोड ५७ लाख रुपैयाँ बिगो कायम गर्नुपर्ने राय दिइएको छ । सीआईबीले संगठित अपराधको कसुरमा ६० दिनसम्म अनुसन्धान गरेर पठाएको प्रतिवेदनको आधारमा २७ असार २०८० मा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।

मुद्दा दर्ता भएपछि यो प्रकरणमा माओवादी नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरा पनि जोडिएको खुलेको थियो ।

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार ०८:४८

लोकप्रिय