सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा ३०० बढी परकम्प

 बझाङमा गत मंगलबारको भूकम्पपछि परकम्प जाने क्रम जारी छ । गएराति पनि दुई पटक परकम्प गएको रेकर्ड छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको रेकर्ड अनुसार गएराति चैनपुर आसपास केन्द्रविन्दु भएर १० बजेर ५२ मिनेटमा ४.५ र १२ बजेर २३ मिनेटमा ३.९ म्याग्निच्युडको परकम्प गएको छ । केन्द्रका अनुसार मंगलबारयता तीन सयभन्दा धेरै साना–ठूला परकम्प गएका छन् ।

गत मंगलबार बझाङको तालकोट केन्द्रविन्दु भएर ५.३ र चैनपुर केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले अहिले पनि परकम्प जाने र धक्का महसुस भइरहेको जानकारी दिए ।

‘मंगलबार छिटो–छिटो र अलि बढी नै धक्का महसुस हुन्थ्यो तर अहिले पनि त्यस्तो अलि कम भएको छ,’ प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने, ‘तर धक्का दिने क्रम जारी छ ।’

उनका अनुसार धक्का जाने क्रम विगतको तुलनामा काम हुँदै गएपछि स्थानीयको जनजीवन विस्तारै सामान्य हुँदै जान थालेको छ । ‘मंगलबार र भोलिपल्ट पनि कोही पनि घरभित्र बस्न सक्ने अवस्था थिएन । तर अब भने विस्तारै घरमा जाने र कामकाज गर्ने क्रम सुरु हुन थालेको छ ।’

घर पूरै भत्किएकाहरु अहिले पनि सार्वजनिक स्थानमा टेन्टमुनि बसिरहेका छन् । भूकम्प प्रभाविहरुलाई राहत बाँड्ने क्रम जारी छ ।

प्रदेश सरकारले उपलब्ध गराएको राहत बिहीबार बझाङ पुगेको छ । आज केन्द्र सरकारले उपलब्ध गराएको राहत ट्रक मार्फत् जिल्ला आउँदै गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए ।

त्यसअघि रेडक्रस लगायतका संघसंस्थाले टेन्ट र केही खाद्यान्न प्रभावितहरुलाई उपलब्ध गराएका थिए । राहत वितरण एकद्वार प्रणालीबाट भइरहेको छ ।

भूकम्पबाट कति प्रभावित भए र क्षतिको अवस्था कस्तो छ भनेर अझै पनि एकिन भइसकेको छैन । भूकम्पमा परी १ जनाको मृत्यु र २० जना घाइते भएको विवरण भए पनि भौतिक पूर्वाधारतर्फ भएको क्षति एकीन भइसकेको छैन ।

क्षतिको यथार्थ विवरण छिटो उपलब्ध गराउन पालिकाहरुलाई जिल्ला विपद व्यवस्थापन समितिले निर्देशन दिएको छ । सबै पालिकाका सबै वडाबाट परिचालित टिमले क्षतिको विवरण संकलन गरिरहेका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार ०८:५६

लोकप्रिय