सूचनाको शक्ति - The Power Of Information

        

उत्तेजक अभिव्यक्ति नदिने शर्तमा रिहा भए आचार्य श्रीनिवास

उत्तेजक अभिव्यक्ति दिएपछि पक्राउ परेका हिन्दु धर्मगुरु आचार्य श्रीनिवास गल्ती स्वीकार गरेर रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालयले उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा ५०० रुपैयाँ जरिवाना तिराएर रिहा गरेको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए । उनका अनुसार श्रीनिवासले आफूले उत्तेजक अभिव्यक्ति दिएर गल्ती गरेको स्वीकार गरेपछि ५०० रुपैयाँ जरिवाना तिराएर छाडिएको हो ।

असोज १२ गते श्रीनिवासले जनकपुरधाममा भएको एक कार्यक्रममा उनले उत्तेजक अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिले समाजमा नकारात्मक असर पर्ने र हिंसा भड्किन सक्ने भन्दै सार्वजनिक रुपमा विरोध भएको थियो ।

मंगलबार उनलाई सुनसरीको बराहक्षेत्र नगरपालिका–चक्रघट्टीबाट जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको थियो । बुधबार जिल्ला प्रशासन कार्यालयमा उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसूर अभियोग गर्दा भएपछि जनकपुरधाम ल्याइएको थियो ।

जिल्ला प्रशासन कार्यालयमा वयानका क्रममा श्रीनिवासले आफू आवेशमा आएर गलत अभिव्यक्ति दिएको स्वीकार गरेका थिए । ’म साधु मान्छे । त्यति बेला माहोल देखेर आवेशमा आएर बोलेँ ।

गल्ती गरेँ, कमिला पनि नमार्ने मान्छे म । के मान्छे मार्न आदेश दिउँला र । मैले गल्ती बोलेको हुँ’,  श्रीनिवासको वयान उधृत गर्दै धनुषाका डीएसपी रञ्जल अवाले भने ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार १९:४७

लोकप्रिय