सूचनाको शक्ति - The Power Of Information

        

क्रिकेटर दीपेन्द्रसिंह ऐरी प्रहरी सहायक हवल्दारमा बढुवा

नेपाल प्रहरीले नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई विशेष बढुवा गरेर सहायक हवल्दार बनाएको छ । १९ औं एसियाली खेलकुद अन्तर्गत मंगोलियाविरुद्धको खेलमा विश्व कीर्तिमान कायम गरेका ऐरीलाई प्रहरीले बिहीबार एक तह बढुवा गरेको हो ।

नेपाल पुलिस क्लबका कप्तानसमेत रहेका ऐरीले चीनको हाङ्जाओमा भएको एसियाली खेलकुदमा मंगोलियाविरुद्धको खेलमा ९ बलमै अर्धशतक पूरा गरी विश्व कीर्तिमान बनाएका थिए । सुदूरपश्चिमबाट क्रिकेटमा उदाएका दीपेन्द्रले दुर्लभ किर्तिमान बनाएपछि चर्चामा छन् ।

सन् २०१७ को मार्च ११ मा केन्याविरुद्धको खेलबाट नेपाली राष्ट्रिय टोलीमा स्थान बनाएका २३ वर्षीय दायाँ हाते ब्याट्सम्यान दीपेन्द्रले सन् २०१८ मा नेदरल्याण्डस्विरुद्धको खेलबाट नेपाली टोलीबाट ओडीआईमा डेब्यू गरेका थिए ।

अहिलेसम्म नेपालका तर्फबाट ५२ ओडीआई म्याच खेलेका ऐरीले ८८९ रन बनाएका छन् । ४५ टी–२० प्रतियोगितामा नेपालका लागि एक हजार १५५ रन बनाएका छन् । उनले अहिलेसम्म खेलका अन्तर्राष्ट्रिय खेलमा ओडिआईमा ३६ र टी–२० मा २२ विकेट लिएका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार १७:५९

लोकप्रिय