सूचनाको शक्ति - The Power Of Information

        

शान्त बन्दै नेपालगन्ज

नेपालगन्जमा कर्फ्यु, ‘दिउँसो हटाइयो, राती कायमै’

राती ८ बजेदेखि विहान ८ बजेसम्म भने कर्फ्यु कायमै रहनेछ ।

नेपालगन्जमा मंगलबारदेखि लगाइएको कर्फ्यु दिउँसो हटाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार नेपालगन्ज नगर क्षेत्रमा लगाइएको कर्फ्युलाई राती भने निरन्तरता दिइएको छ ।

मंगलबार दिउँसो १ बजेदेखि जारी भएको अनिश्चितकालीन कर्फ्युलाई बुधबार पनि निरन्तरता दिइएको थियो । आज बिहीबार बिहान ८ बजेदेखि राती ८ बजेसम्मका लागि हटाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए ।

उनका अनुसार राती ८ बजेदेखि विहान ८ बजेसम्म भने कर्फ्यु कायमै रहनेछ । दुई धार्मिक समुदायबीच तनाव बढ्ने अवस्था सिर्जना भएपछि मंगलबार दिउँसोदेखि स्थानीय प्रशासनले नेपालगन्ज नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।

पूर्वमा राप्ती नदी, पश्चिममा खजुराको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकाभित्र भेला, जुलुश तथा सभा समारोह, हुलहुज्जत गर्न नपाइने बाँकेका प्रमूख जिल्ला अधिका आचार्यले बिहीबार विहान विज्ञप्तीमार्फत जनाएका छन् ।

प्रजिअ आचार्यले बिहीबारको अवस्थालाई हेरेर शुक्रबारका लागि निर्णय गर्ने बताए । कर्फ्युका कारण मंगलबार र बुधबार बिहानैदेखि नेपालगन्ज क्षेत्र सुनसान बनेको थियो, बजार र यातायात बन्द रहेका थिए । नागरिकहरू घरभित्रै बसेका थिए ।

झडपमा परेर केही घाइते भएका छन् । प्रजिअ आचार्यका अनुसार नेपालगन्जको अवस्था सामान्य बनेपछि कर्फ्युको समयमा हेरफेर गरिएको हो । दुई धार्मिक समूहबीचको तनाव चुलिएपछि नेपालगन्ज नगर क्षेत्रमा मंगलबार साँझदेखि सेनासमेत परिचालन गरिएको छ ।

दुई धार्मिक समूहहरुबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ ।  प्रजिअ आचार्यले धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउनेजस्ता गतिविधि नगर्न र सामाजिक सञ्जालमा पनि एक अर्काविरुद्ध जथाभाबी नलेख्न समेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार ०८:३७

लोकप्रिय