सूचनाको शक्ति - The Power Of Information

        

रिगललाई आममाफी दिएकोविरुद्ध परेको रीटमा सर्वोच्चमा आज सुनुवाइ

नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा हानेर हत्या गरेको अभियोगमा जन्मकैद पाएका योग ढकाल (रिगल) लाई राष्ट्रपतिले माफी दिएकोविरुद्ध सर्वोच्च अदालतमा परेको रीटमा बिहीबार सुनुवाई हुने भएको छ ।

हत्या गरिएका चेतन मानन्धरकी पत्नी भारतीले दिएको मुद्दालाई बिहीबारका लागि पेशीमा चढाइएको छ । माफीविरुद्ध रीट हालेकी भारती भने बुधबार सर्वोच्च अदालतमा तारेख बुझ्न जाने क्रममा सर्वोच्च परिसरमै ढलेकी थिइन ।

तारेख बुझेर फर्किने क्रममा अदालत परिसरमै उनी ढलेकी हुन् । भारतीलाई प्रहरीले उठाएर केहीबेर बेञ्चमा राखेपछि अस्पताल पठाएको छ । श्रीमान चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगलको कैद मिनाह भएपछि उनी न्याय माग्दै काठमाडौं आएकी थिइन् ।

उनले बुधबारदेखि माइतीघर मण्डलामा दुई घन्टे रिले अनसन समेत थालेकी हुन् । रिगलविरुद्ध २०७२ असार २८ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो ।

उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

तर, संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल छुटेका थिए । कैद मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्ध भारती अनशन बसेकी हुन् ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार ०१:५७

लोकप्रिय