सूचनाको शक्ति - The Power Of Information

        

इन्जिनियरको गैरकानुनी कमाइ ३ करोड

रामबहादुर रानाभाटले सरकारी जागिरमा रहँदाको २४ वर्षमा अनियमितता गरी झन्डै ३ करोड रुपैयाँ आम्दानी गरेको पाइएको छ ।

जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही दाङका इन्जिनियर रानाभाटले पदको दुरुपयोग गरी सो रकम कमाएका हुन् । २०४६ असार ३० गते सरकारी सेवामा प्रवेश गरेका रानाभाट गत वर्ष कार्तिक ६ गतेसम्म जागिरे थिए । अकुत सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धानले गरेको छानबिनका क्रममा सो तथ्य खुलेको हो ।

रानाभाटको जीवनशैली अस्वाभाविक, पदीय हैसियतअनुसार अमिल्दो भएको आशंका गरी अख्तियारमा उजुरी परेको थियो । उजुरी परेको महिनौं दिनपछि आयोगले छानबिन गरेर सो स्थिति पाइएको आयोगका प्रवक्ता भोला दाहालले बताउनुभयो ।

इन्जिनियर रानाभाटले कमाएको ३ करोड १५ लाख ८१ हजार ६६ रुपैयाँ ८० पैसा बराबरको सम्पत्ति स्रोत नखुलेको भन्दै आयोगले भ्रष्टचारको मुद्दामा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार ०१:५५

लोकप्रिय