२०८२ मंसिर २० , शनिबार 6, December 2025, Saturday
अमेरिकी डाइभर्सिटी भिसा

खुल्यो डिभी : कुनै शुल्क नलाग्ने, राहदानी नचाहिने

कात्तिक २१ गते राति १०ः४५ बजेसम्म
सत्यपाटी
सत्यपाटी । काठमाडौँ । २०८० असोज १७ गते बुधबार

अमेरिकाले सन् २०२५ का लागि अमेरिकी डाइभर्सिटी भिसा (डिभी)को आवेदन दर्ता आजबाट खुला गरेको छ । नेपाली समयअनुसार बुधबार राति ९ः४५ बजेबाट डिभीको  आवेदन दिन सकिने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

दूतावासद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी डिभी आवेदकहरूलाई चाँडै नै आवेदन भर्न प्रोत्साहित गर्दछौँ ।’ डिभीको लागि आगामी कात्तिक २१ गते राति १०ः४५ बजेसम्म आवेदन दिन पाइने  दूतावासले जनाएको

डीभी कार्यक्रममा सहभागी हुनका लागि कुनै शुल्क नलाग्ने दूतावासले स्पष्ट पारेको छ । विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी दूतावास तपाईंहरूलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिन्छ ।

आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला । सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईं स्वयं जिम्मेवार रहनुहुनेछ ।’

डिभीको लागि फारम अनलाइन भर्नुपर्नेछ । आवेदन दर्ता गर्दा आवेदकको पति–पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचीकृत गर्न अनिवार्य रहेको दूतावासले जनाएको छ ।

उनीहरूलाई समावेश नगरी पेस गरिएको आवेदन अमान्य हुने विज्ञप्तिमा उल्लेख छ । एकजनाले व्यक्तिले डीभीको लागि एउटा मात्र आवेदन दिन पाउनेछन् ।  एकभन्दा बढी आवेदन बुझाउने आवेदक कार्यक्रमका लागि अयोग्य ठहरिनेछन् ।

अघिल्लो वर्षको डिभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिने दूतावासले जनाएको छ । फोटो खिच्दा आवेदकहरूले चस्मा लगाउन नहुनेसमेत दूतावासले बताएको छ ।

डिभी आवेदन भर्दा आवेदकहरूसँग राहदानी हुनु अनिवार्य छैन ।

प्रकाशित मिति : २०८० असोज १७ गते बुधबार