सूचनाको शक्ति - The Power Of Information

        

एसियाली खेलकुदको महिला कबड्डीमा नेपालको पदक पक्का

 चीनमा भइरहेको १९औँ एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला कबड्डीमा नेपालले कम्तीमा कास्य पदक पक्का गरेको छ ।

एसियाली खेलकुदको महिला कबड्डीमा पहिलो पटक सहभागिता जनाएको नेपालका लागि कास्य पदक पक्का भएको हो ।

आज भएको समूह ‘बी’ को खेलमा इरानले बङ्लादेशलाई ५४—१६ अङ्कले हराएपछि नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

नेपाल सेमिफाइनलमा पराजित भए पनि कम्तीमा कास्य पदक प्राप्त गर्नेछ । कबड्डीको सेमिफाइनलमा पराजित हुने दुवै टोलीलाई कास्य पदक प्रदान गर्ने प्रावधान छ ।

एसियाली खेलकुदको इतिहासमै नेपालले कबड्डी (पुरुष र महिला) मा पदक जितेको यो पहिलो पटक हो । यसअघि समूहगत चरणको आफ्नो पहिलो खेलमा नेपालले बङ्लादेशलाई ३७—२४ अङ्कले हराएको थियो।

समूहगत चरणको दोस्रो खेलमा हिजो इरानले नेपाललाई ४३—१९ अङ्कले हराएको थियो । एसियाली खेलकुदको महिला कबड्डीमा कुल सात ७ देश सहभागी छन् ।

समूह ‘ए’ मा भारत, चाइनिज ताइपेई, दक्षिण कोरिया र थाइल्यान्ड रहेका छन् । समूह ‘बी’ बाट नेपाल र इरान सेमिफाइनलमा पुग्दा नेपालले सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने टोलीको टुङ्गो लागिसकेको छैन ।

बङ्लादेश समूहगत चरणबाटै बाहिरिएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार ०४:०८

लोकप्रिय