२०८२ चैत १ , आइतबार 15, March 2026, Sunday

बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, १३५ घर भत्किए

सत्यपाटीसत्यपाटी । बझाङ । २०८० असोज १७ गते बुधबार

बझाङमा भूकम्पबाट एक जनाको मृत्यु गएको छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो ।

बझाङमा भूकम्पबाट ११ जना घाइते भएका छन् । दुई जना उपचारपछि घर फर्किएका छन् भने नौ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

घाइते हुनेमा जयपृथ्वी नगरपालिका–११ की सात वर्षीया सलिना जोशी, सोही ठाउँकी प्रमिला जोशी, खप्तडछान्ना गाउँपालिका–७ की सुनिता रोकाया, जयपृथ्वी नगरपालिका–७ का तीन वर्षीय नितिक बोहारा, सोही ठाउँकी एलिसा बम, मष्टा–३ की आँसु रोकाया, मष्टा–१ की १३ वर्षीया सविता रोकाया, सोही ठाउँकी शान्तिदेवी थापा, दुर्गाथली गाउँपालिका–६ का अम्मर जाग्री, तलकोट गाउँपालिका–३ का कमल कडाल र जयपृथ्वी नगरपालिका–१० की रमा परियार रहेका छन् ।

प्रहरीका अनुसार भूकम्पबाट बझाङमा एक सय ३५ संरचनामा क्षति पुगेको छ । प्रहरी निरीक्षक चौधरीका अनुसार थलारामा ६० घरमा क्षति पुगेको छ । 

केदारस्यूँमा एक, वित्थडचिरमा दुई तथा बुङ्गल नगरपालिकामा चार घर पूर्णरूपमा क्षति भएका छन् । जयपृथ्वी नगरपालिकामा ४१ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २०८० असोज १७ गते बुधबार