सूचनाको शक्ति - The Power Of Information

        

बाँकेको नेपालगञ्जमा कर्फ्यु

सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि बाँकेको नेपालगञ्जमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।

हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु जारी गरिएको हो ।

हिन्दुहरुको समूह आज नेपालगञ्जमा भेला भएर प्रदर्शनमा उत्रिएको छ । त्यसमा झडप हुन सक्ने र सदभाव विग्रिने संकेत देखिएपछि कर्फ्यु जारी गरिएको हो । सम्भावित तनावलाई मध्यनजर गर्दै नेपालगञ्जमा आज बिहान सदभाव र्यालीसमेत निकालिएको थियो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार मात्र जरुरी सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने जस्ता गतिविधि नगर्न भनेको थियो ।

यदि त्यसो गरेमा स्थानीय प्रशासन ऐन २०२८ तथा प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलवार ०७:१६

लोकप्रिय